नेपाल र ठाकुर पक्षले पार्टीको नयाँ नाम जुराए

काठमाडौं । एमालेको माधवकुमार नेपाल र जसपाको महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दल दर्ताका लागि दिएको नाम परिवर्तन भएको छ ।
निर्वाचन आयोगमा दर्ता भइसकेको कुनै पार्टीको नामसँग अगाडि वा पछाडि अरु केही जोडेर अर्को पार्टी बनाउन नमिल्ने भन्दै निर्वाचन आयोगले प्रस्ट पारेपछि नेपाल र ठाकुर पक्षले पार्टीको नयाँ नाम जुराएका हुन ।

मंगलबार नेपाल पक्षले नेकपा एमाले समाजवादी र ठाकुर पक्षले जनता समाजवादी पार्टी नेपाल (लोकतान्त्रिक) नाममा दल दर्ताको लागि निवेदन दिएको थियो ।
निर्वाचन आयोगले ती नामहरू दर्ता गर्न नमिल्ने बनाए पछि दुवै पक्षले आ–आफनो दलको नाम परिवर्तन गरेका हुन् । नेपाल पक्षले नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी बनाउन आयोगमा फेरि निवेदन दिएको छ । नेता राजेन्द्र पाण्डेसहितको टोली निर्वाचन आयोग पुगेर नाम संशोधन गरेका हुन् ।

बिज्ञापन

एमाले जोडिएको नाम अस्वीकृत हुने सम्भावना देखेपछि नयाँ नाम प्रस्ताव गरिएको हो । आयोगले बिहीबार नै नेपाल पक्षले दिएको अर्को नाम राखेर नयाँ निवेदन पेश गरिएको जनाएको छ ।
सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाका आधारमा एमाले जोडिएको र जसपा जोडिएको पार्टीको दल दर्ता नहुने आयोगले स्पष्ट पारेपछि दुवै समूहले फेरि दलको नाम परिवर्तन गरेका हुन् ।
आयोगकाअनुसार मंगलबार आयोगमा दर्ता भएका जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेपाल कम्युनिष्ट पार्टी एमाले समाजवादी दुबै नाम परिवर्तन भइसकेको छ ।

जनता समाजवादी पार्टी जसपाको उपेन्द्र यादव पक्षले आफ्नो पार्टीसँग मिल्ने नाम नदिन निर्वाचन आयोगमा बिहीबार नै निवेदन दिएका थिए ।
यस्तै नेकपा एमालेले पनि आफ्नो दलको नाम जोडेर कुनै नाम नदिन निर्वाचन आयोगमा शुक्रबार निवेदन दिएको छ ।
ठाकुर पक्षले भने परिवर्तन गर्ने नाम खोजी गरिरहेको छ । ठाकुर पक्षले आयोगमा दल दर्ताका लागि निवेदन दिएका ज्ञानेन्द्र यादवको दल लिने प्रयास गरिरहेका छन् । यादवले आफ्नो दलको नाम फिर्ता लिने र त्यही नाम ठाकुर पक्षलाई दिन अहिले छलफल गरिरहेका छन् ।

ठाकुर पक्षका एक नेताका अनुसार लोकतान्त्रिक समाजवादी पार्टी राख्ने विषयमा पनि छलफल भइरहेको छ । ठाकुर पक्षले नयाँ नाम जुराएर आयोगमा निवेदन दिँदैछ । यद्यपि त्यसमा अहिलेसम्म सहमति बनिसकेको छैन । कतिपय नेताले राजपा वा तमलोपा राख्न पनि सुझाव दिएका छन् तर त्यसमा सहमति बन्ने सम्भावना निकै कम रहेको बनाइएको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले निर्वाचन आयोगमा मिल्दा जुल्दा नामसँग मिल्ने गरी अगाडि वा पछाडि केही जोडेर अर्को नयाँ पार्टी दर्ता गराउन नमिल्ने भनेर यसअघि नै सूचना जारी भइसकेको बताए । तैपनि नयाँ पार्टीका लागि मिल्दोजुल्दो नाम आएको उनको भनाइ छ ।
आयोगले यसअघि नै सूचना जारी गरिसकेको भन्दै उनले नयाँ दल दर्ता गराउन आएका पक्षले आफै सच्याएर ल्याए दर्ता प्रक्रिया अघि बढाउने अन्यथा आयोगबाट सम्बन्धित पक्षलाई सूचना पठाउने बताए ।