
काठमाडौं । कास्कीका सबै एमाले जनप्रतिनिधि मूलघरमै बस्ने भएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी कास्कीले गरेको कार्यक्रममा जिल्लाका सबै एमाले जनप्रतिनिधिले मूलघर नछाड्ने बताएका हुन् । एमाले कास्कीले हिजो कास्कीमा एमालेबाट निर्वाचित जनप्रतिनिधिको भेला गरेको थियो । सो भेलामा सबै जनप्रतिनिधिले एमालेमै बस्ने बताएका एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।



एमालेबाट चोइटिएको माधवकुमार नेपाल नेतृत्वको नयाँ पार्टी गठनसँगै देशभर एमाले नेताहरुको दलबदल प्रक्रिया चलिरहेको छ । तर कास्कीका जनप्रतिनिधिले माधवलाई साथ दिएनन् । कास्कीका सबै जनप्रतिनिधि एकताबद्ध एमालेको पक्षमा रहेका र विभाजनकारीलाई साथ नदिने बताएका थापाले जानकारी दिनुभयो ।

कास्कीमा प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहमा प्रत्यक्ष र समानुपातिक गरी एमालेका २ सय ८२ जना जनप्रतिनिधि छन् । तीमध्ये प्रतिनिधि सभामा खगराज अधिकारी, जगत विश्वकर्मा र विद्या भट्टराई गरेर ३ जना हुनुहुन्छ । प्रदेश सभामा ८ जना सांसद् छन् । अरु सबै स्थानीय तहका जनप्रतिनिधि हुन् ।