
काठमाडौं– नेपाली कांग्रेसका सह-महामन्त्री डा.प्रकाश शरण महतले संविधानसभा सदस्यहरुबीच सहमति नजुट्दा संविधानमा कतिपय विरोधाभाष निहित रहको बताएका छन् ।
संविधान दिवसको शुभकामनादिँदै उनले विरोधाभाष र अभ्यासका क्रममा देखिएका कमिकमजोरीहरुलाई संशोधन गरी संविधानलाई समायानुकूल बनाउनुपर्ने खाँचो रहेको बताएका हुन् ।
उनी भन्छन्– ‘संविधान राज्य सञ्चालनको जीवन्त दस्तावेज हो । विभिन्न विचाराधारा भएका संविधानसभा सदस्यहरुबीच सहमति नजुट्दा यो संविधानमा कतिपय विरोधाभाष निहित छन् । यी विरोधाभाष र अभ्यासका क्रममा देखिएका कमिकमजोरीहरुलाई संशोधन गरी संविधानलाई समायानुकूल बनाउनुपर्ने खाँचो छ ।’
‘संविधानलाई यसको अक्षर र भावना अनुरुप कार्यान्वयन गर्न नेपाली कांग्रेस सबै राजनीतिक दल र राज्यका निकायहरुको जिम्मेवारीपूर्ण सहभागिताको अपेक्षा गर्दछ’– उनी थप भन्छन् ।
साथै उनले साढे सात दशक लामो लोकतान्त्रिक संघर्षपछि नेपाली नागरिकहरुले हासिल गरेको उपलब्धिले नेपालको राजनीतिक र संवैधानिक विवादको अन्त्य गरेको उल्लेख गरेका छन् ।