
काठमाडौँ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वडादेखि केन्द्रसम्मै सही नेतृत्व छनोट गर्न कार्यकर्तालाई आग्रह गरेका छन् । कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको बताउँदै उनले १४ औं महाधिवेशनमा सही नेतृत्व छान्न सक्ने हो भने अहिलेको जस्तो अलमलको अवस्थामा नरहने बताए ।

पर्वत कांग्रेसले निर्माण गरेको नवनिर्मित पार्टी कार्यालय भवनको आज बिहान भर्चुअल माध्यमबाट आयोजित उद्घाटन कार्यक्रममा नेता पौडेलले यस्तो बताएका हुन् । ‘महाधिवेशन सामुन्ने आइसकेको छ, पार्टीलाई कस्तो नेतृत्व दिने भन्ने यो महाधिवेशनले तय गर्नुपर्छ। पार्टीका नेता/कार्यकर्तालाई नेतृत्वले मूल्यांकन गर्न सकेन भन्ने गुनासो छ तर अब कार्यकर्ताले नेतृत्वको मूल्यांकन गर्न जरूरी भइसकेको छ,’ पौडेलले भने।



उनले बिपी अनुकूलको पार्टी वा नेतृत्व छ कि छैन भन्ने समीक्षा गरिनुपर्ने पनि बताए । ‘नेताले कार्यकर्ता मूल्यांकन गर्ने मात्र होइन अब कार्यकर्ताले नेताको मूल्यांकन गर्ने बेला आएको छ । महाधिवेशनकै बेला सही नेतृत्व दिन सके अहिलेको जस्तो अलमलको अवस्थामा पार्टी रहँदैन,’ उनले भने ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाएर कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बने पनि जनअपेक्षाअनुसार काम हुन नसकेको पनि बताएका थिए। उनले कम्युनिष्ट पार्टी फुटेर कांग्रेस बलियो हुने नभई आन्तरिक लोकतन्त्रलाई नै सुदृढ गरेर पार्टीलाई बलियो बनाउनुपर्ने बताए।