मुख्यमन्त्री शाक्यद्वारा विश्वासको मत लिने तयारी

बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सरकार टिकाउन साना दलसहित अन्य दलहरूसँग गठबन्धनको प्रयास विफल भएपछि संसद्बाट विश्वासको मत लिने तयारी थालेकी छिन् ।

सरकार अल्पमतमा परेको ३० दिनभित्र मुख्यमन्त्रीले संसद्बाट विश्वासको मत लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । उक्त संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाक्यले आगामी असोज २५ गते भित्र विश्वासको मत लिइसक्नु पर्ने हुन्छ । गत भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको नेकपा एमालेको सरकार भदौ २७ गते बागमती प्रदेशसभा सचिवालयमा नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरूको नामावलीसहितको निर्वाचन आयोगको पत्र दर्ता भएसँगै अल्पमतमा परेको थियो ।

५६ सांसदका साथ एमालेको स्पष्ट बहुमतको सरकारको नेतृत्व गरेकी शाक्य नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता पछि भने ४३ सांसदमा सीमित हुन पुगिन् । प्रदेशमा नयाँ सरकार गठन गर्न वा मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार टिकाउन कुल १०९ जना सांसदमध्ये ५५ जनाको समर्थन आवश्यक हुन्छ ।

बागमती प्रदेशमा बलियो पक्कड बनाएको गठबन्धनको सरकार बन्ने निश्चित देखिन्छ । प्रदेशमा माओवादी केन्द्रका २३, नेपाली काँग्रेसका २२ र नेकपा एकीकृत समाजवादी पार्टीका १३ जना सांसदसहित संयुक्त गठबन्धनको सरकार बनाउने गृहकार्य भइरहेको छ ।