बालुवाटारमा सर्वदलीय बैठक, एमाले र राप्रपाद्वारा बहिस्कार

काठमाडौँ : संसदको गतिरोध अत्यका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा विहान १०: ३० बजेबाट सर्वदलीय बैठक चलिरहेको हो ।

प्रमुख प्रतिपक्षी एमालेले भने सरकारले बोलाएको सर्वदलीय बैठक बहिस्कार गरेको छ । भानुका अनुसार सर्वदलीय बैठकमा एमालेबाट कुनै प्रतिनिधि सहभागी छैनन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कुनै पनि नेता बैठक सहभागी नभएको प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री तथा सभापति देउवा र कानुनमन्त्री ज्ञानेन्द्र कार्की सहभागी छन् भने माओवादीबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ उपस्थित छन् । यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव बेदुराम भुसाल सहभागी छन् ।

प्रमुख स्वकीय सचिव देउवाका अनुसार जनता समाजवादी पार्टी (जसपा)बाट राजेन्द्र श्रेष्ठ र महेन्द्रराय यादव सहभागी छन् भने लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोको उपस्थिति रहेको छ । यस्तै राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल र मजदुर किसान पार्टीबाट प्रेम सुवाल सहभागी छन् ।