
काठमाडाैँ । ललितपुरको जावलाखेलस्थित तरकारी बजारमा सरकारले डोजर चलाएको छ । २० वर्ष अघिदेखि सञ्चालित स्टाफ कलेजनजिकैको सडक किनारमा करिब ५२ वटा टहरामा डोजर लगाइएको हो ।
जिल्ला प्रशासन कार्यालय, ललितपुरले पसल हटाउन तीनदिने अल्टिमेटम दिएको थियो । यस अवधिमा पसलेहरुले आफ्ना सबै सामान अन्यत्रै सारिसकेको बताइएको छ ।
तर केही पसलेहरू भने अचानक भत्काउन अाएकाेले सबै सामानहरू सकुशल व्यवस्थित गर्न नपाएको बताउँछन् । जिल्ला प्रशासनकै आदेशमा डोजर लगाएर ती टहरा भत्काइएको प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशीले बताएका छन् ।

प्रजिअ जोशीका अनुसार विगतमा पनि पटकपटक ती टहरा भत्काउने प्रयास भएको थियो । अव्यवस्थित रुपले ती टहरामा तरकारी बजार सञ्चालन गरिँदै आएको थियो, जसका कारण पार्किङको अभावमा सडक जाम हुने र अस्तव्यस्तता बढ्ने समस्या थियो ।
अटेर गरेर बसिरहेका पसलेहरुलाई अदालतले समेत साथ नदिएपछि जिल्ला प्रशासनलाई ती टहरा भत्काउने बाटो खुलेको हो । पसल सञ्चालकहरुले उच्च अदालत पाटनमा दिएको रिट निवेदन अदालतले खारेज गरिदिएको थियो । ती टहराहरुबाट उठेको भाडा भने जावलाखेल युथ क्लबले चलाउने गरेको थियो ।