चार महिनापछि सुरु भयो राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण

म्याग्दी । सरकारी स्वामित्वको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित म्याग्दीको राहुघाट जलविद्युत् आयोजनाको बाँध निर्माण करिब चार महिनापछि सुरुआत भएको छ ।
रघुगङ्गा गाउँपालिका–४ बुग्लको पहिराका कारण मजदुर, यातायात र ढुवानीका साधन आवतजावत गर्न नसकेपछि ४० मेगावाट क्षमताको राहुघाटको बाँध र १ नम्बर अडिटबाट सुरुङ निर्माण गत असार महिनादेखि रोकिएको थियो ।

पहिरो पन्छाएर पहुँचमार्ग मर्मत गरेपछि बाँध क्षेत्रमा निर्माण सञ्चालन भएको आयोजनाको प्रवद्र्धक रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीले बताए ।
“करिब चार महिनापछि निर्माणकार्य पुरानै लयमा फर्किएको छ”, उनले भने, “दसैँलगायत चाडपर्वको समयमा पनि आयोजना निर्माणलाई निरन्तरता दिएका छौँ ।”
भारतीय सिभिल ठेकेदार जयप्रकाश एशोसिएट्स (जेपी)ले बाँधमा जग्गा व्यवस्थापनसँगै १ नम्बरको अडितबाट सुरुङ खन्ने तयारी गरेको छ ।

राहुघाट जलविद्युत् आयोजनाका व्यवस्थापक राज विष्टले बर्खायाममा प्रतिकूल मौसम र पहिराका कारण प्रभावित भएको निर्माणकार्य लयमा फर्किएको बताए ।
नेपाल विद्युत् प्राधिकरणको शतप्रतिशत सेयर लगानीमा विसं २०७३ मा स्थापना भएको रघुगङ्गा हाइड्रोपावर लिमिटेडसँग विसं २०७४ मङ्सिरमा ठेक्का सम्झौता गरेको सिभिल ठेकेदार जेपीले हालसम्म सर्चसाफ्ट र चारवटै अडिट (मुख्य सुरुङमा पुग्ने पहुँचमार्ग)को ब्रेकथ्रु गरेको छ ।