मकवानपुरमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

मकवानपुर । मकवानपुरको रातोमाटेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु भएको छ ।

पुर्व पश्चिम राजमार्ग अन्तरगत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नामनिशान–१५ रातमाटेमा यात्रु बाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार स्थानीय २ जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शुक्रबार राति नारायणगढबाट काँकडभिट्टा तर्फ जाँदै गरेको ना ६ ख ७६९ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको ना ५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
बसको ठक्करले मोटरसाइकलमा सवार हेटौंडा–१५ मा १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ मा बस्ने २२ वर्षीय सुशान्त दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

दुर्घटनामा घाइते भएका दुवै युवकको उपचारका लागि हेटौंडा अस्पताल पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । दुवै जना युवकको शव हेटौंडा अस्पतालको शव गृहमा राखिएको छ ।

दुर्घटना पछि आक्रोशित स्थानीयहरुले ठक्कर दिने बसलाई तोडफोडसमेत गरेका थिए ।बाक्लो मात्रामा प्रहरी परिचालन गरी स्थानीयहरुको भिड नियन्त्रण गरेको प्रहरी निरीक्षक दासले जनाए ।ठक्कर दिने बस तथा चालक प्रहरीको नियन्त्रणमा रहेको उनले बताए ।