
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलो पटक साफ च्याम्पियनसिपको उपाधिका लागि आज शनिबार भारतसँग भिड्दैछ ।खेल मालदिभ्सको मालेस्थित नेशनल स्टेडियममा राति पौने ९ बजे हुनेछ ।
त्यसको पूर्व सन्ध्यामा आयोजित प्रि–म्याच कन्फ्रेन्समा सहायक प्रशिक्षक किरण श्रेष्ठले भारतविरुद्ध नेपाली टिमले बलियो चुनौती पेस गर्ने दाबी गरे । सहायक प्रशिक्षक श्रेष्ठले भने, ‘पहिलो पटक साफको फाइनलमा पुगेका छौं, भोलिको खेल महत्वपुर्ण हुने र ठुलो खेल हो, हाम्रो लागि सहज हुनेछैन तर हामी नतिजाका लागि खेल्नेछौँ ।’
श्रेष्ठले भारतविरुद्ध पहिलेको खेलमा गरेको गल्तीलाई सुधार गर्दै खेल प्रस्तुत गर्ने बताए । भारतविरुद्ध रक्षात्मक र आक्रामक रणनीति अपनाइने उनले जानकारी दिए ।
यसअघि चोट बोकेका कारण लिग चरणको अन्तिम खेल गुमाएका पुजन उपरकोटीले खेल्ने नखेल्ने बारेमा शनिबार नै थाहा हुने उनले बताए । ‘दशैँ भएपनि पहिलो पटक फाइनल पुगेकाले खेलको लागि फोकस गरेका छौ । टिममा चोटको कुनै समस्या छैन । त्यसैले राम्रो खेल्नेछौँ,’ उनले भने ।
नेपाल लिग चरणको दोस्रो स्थानमा रहेर फाइनल पुगेको हो । सुरुवातका लगातार दुई खेल जितेको नेपालले भारतसँगको तेस्रो खेल गुमाएको थियो ।
लिग चरणको अन्तिम खेलमा बगंलादेशसँग बराबरी गर्दै नेपाल इतिहासमा पहिलो पटक फाइनल पुगेको हो । भारत भने शीर्ष स्थानमा रहेर फाइनलमा पुगेको हो ।
नेपाल साफ च्याम्पिनसिपको २८ वर्ष लामो इतिहासमा फाइनल पुगेको यो नै पहिलो पल्ट हो । भारत भने कीर्तिमान सात पल्टको विजेता हो र उसले लगातार आठौं पल्ट फाइनल खेलिरहेको छ । सन् २००५ यता भारतले प्रत्येक संस्करणको फाइनल खेलेको छ ।
भारतीय टिमका सहायक प्रशिक्षक सन्मुघम वेंकटेस भने इतिहासमा धेरै फर्केर हेर्न ठीन नहुने मान्छन् । उनी भन्छन्, नेपालले तेर्साउने चुनौती पक्कै पनि कठिन हुनेछ ।
सहायक प्रशिक्षक वेंकटेसले भने, ‘प्रतिद्वन्द्वीका रूपमा हामी नेपालको सम्मान गर्छौँ । हामी नेपाललाई कमजोर मान्ने भुल पक्कै पनि गर्दैनौँ । पछिल्लो समय दक्षिण एसियाली फुटबलमा कुनै टिमले धेरै प्रगति गरेको छ भने त्यो नेपालले हो । हामीले पछिल्ला केही खेल नेपालविरुद्ध खेलेका छौँ र त्यसमा हामी कडा प्रतिस्पर्धाकै सामना गरेका छौँ ।’