विश्वकप सपना तुहियो, नेपाल सिंगापुरसँग पराजित

काठमाडौ । आईसीसी वरीयतामा आफूभन्दा निकै तल रहेको टिम सिंगापुरसँग ८२ रनले पराजित भएपछि नेपालको ट्वान्टी–२० विश्वकप सपना यो संस्करणका लागि सकिएको छ ।

 

 

सिंगापुरसँग पराजित भएसँगै अष्ट्रेलियामा अर्को वर्ष आयोजना हुने टीट्वान्टी विश्वकप खेल्ने नेपालको सपना सकिएको छ । यो हारले नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल भएको छ । सिंगापुर भने फाइनलको विजेता बन्दै ग्लोबल छनोटमा पुगेको छ ।

 

ईण्डियन एसोसियसन क्रिकेट मैदानमा सिंगापुरले दिएको १९२ रनको फराकिलो लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अलआउट हुँदै १०९ रनमा समेटियो । उत्कृष्ट सुरुवात गरेपनि मध्येक्रमका ब्याट्सम्यान चल्न नसक्दा नेपाल पराजित भयो । नेपालले २७ रन जोड्दा पहिलो विकेटको रुपमा कप्तान पारस खड्कालाई १२ रनमा गुमाएको थियो ।

 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले पुरै २० ओभर खेल्दै ६ विकेट गुमाएर १९१ रन बनाएको थियो ।