कोप-२६ मा सहभागी नभएको भन्दै बाइडनद्वारा चिनियाँ र रुसी राष्ट्रपतिको आलोचना

ग्लास्गो : अमेरिकी राष्ट्रपति जो बाइडेनले जलवायु परिवर्तनसम्बन्धी कोप-२६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आलोचना गरेका छन् । मंगलबार राति कोप-२६ मा सम्बोधन गर्दै बाइडेनले जलवायु एउटा ठूलो मुद्दा भएको तर चीन र रुस यसबाट टाढिएको बताए। बाइडनले चिनियाँ राष्ट्रपति सी चिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आलोचना गरेका हुन्।

ग्लास्गोमा नोभेम्बर १४ सम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । दुवै देशले आफ्ना प्रतिनिधि पठाएका थिए । बाइडनले कोप २६ मा अनुपस्थित भएर चिनियाँ राष्ट्रपति सीले ‘ठूलो गल्ती’ गरेको पनि टिप्पणी गरे। ‘वास्तविकता यो हो कि चीन जो स्पष्ट रुपमा विश्वको लिडरका रुपमा आफ्नो एक नयाँ भूमिकामा जोड दिने कोसिस गरिरहेको छ– उ देखिएन।’ पुटिनको बारेमा टिप्पणी गर्दै बाइडनले रुसी जंगलमा लागेको आगोबारे ‘राष्ट्रपति चुप लागेको’ बताए।

बिज्ञापन

कोप २६ सम्मेलनमा १२० भन्दा बढी मुलुकका नेताहरु सहभागी छन्। नेपालबाट प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोली सम्मेलनमा सहभागी छ।