
जनकपुरधाम । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई ल्याउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ दलकै एक जना मन्त्रीलाई राजीनामा दिलाएर नेकपा (एस)लाई सरकारमा ल्याउने तयारी सुरु गरेका हुन् ।
नेकपा एसलाई सरकारमा ल्याउन मुख्यमन्त्री राउतले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको राजीनामा मागेका हुन । उनको राजीनामा आएसँगै मंगलबारसम्म नेकपा (एस)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।
गत जेठमा महन्थ ठाकुर समूह केपी ओली नेतृत्वको केन्द्रीय सरकारमा सहभागी भएपछि उनी निकट चारजना मन्त्रीलाई मुख्यमन्त्री राउतले बर्खास्त गरेका थिए । त्यसलगत्तै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई सरकारमा सहभागी गराएका थिए । अब केन्द्रीय गठबन्धन अनुसार नेकपा (एस)लाई सरकारमा ल्याउने मुख्यमन्त्री राउतले गृहकार्य थालेका हुन ।
मुख्यमन्त्री राउतले ६ वटा मन्त्रालय टुक्राएर दश वटा बनाएका छन् । १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी लिएर सरकारमा सहभागी भइसकेका छन् । पाँचवटा मन्त्रालय जसपाको भागमा परेको छ । बाँकी दुई मन्त्रालय अहिले मुख्यमन्त्री राउतले सम्हालिरहेका छन् । अहिले मुख्यमन्त्री राउतले कानुन, न्याय तथा प्रदेशसभा र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयको जिम्मेवारीसमेत सम्हाल्दै आएका छन् ।
यी दुई मन्त्रालय लिएर नेकपा (एस) सरकारमा सहभागी नहुने नेकपा (एस)का संसदीय दलका नेता शत्रुधन महतोले जानकारी दिए । उनले आफूले अर्थ र सामाजिक विकास मन्त्रालय लिने दाबी गरे । तर नेकपा एसलाई कुन मन्त्रालय लिने बारे सहमति भने हुन सकेको छैन ।
प्रदेशसभामा नेकपा (एस)का १३ जना सांसद छन् । प्रदेश २ मा ३८ सांसद रहेको जसपाले मुख्यमन्त्रीसहित पाँच मन्त्रालय, १९ सांसद रहेको नेपाली कांग्रेस तीन र आठ सांसद रहेको माओवादी केन्द्रले एक मन्त्रालयको जिम्मेवारी सम्हालेको छ । जनता समाजवादी पार्टीबाट विभाजन भइ १६ जना सांसदसहित गठन भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र आठ जना सांसद रहेको नेकपा एमाले सरकार बाहिर रहेको छ ।