कालापानीलाई बेस क्याम्प बनाउने तयारी

कालापानीलाई बेस क्याम्प बनाएर पर्यटक भित्र्याउनका लागि विभिन्न संरचनाहरू निर्माण गर्न लागिएका छन् । चरिकोटस्थित शैलुङ गाउँपालिका–८ मा अवस्थित उक्त ठाउँमा पर्यटकहरूलाई सेवा सुविधाका लागि होटल, गोलघरलगायतका संरचनाहरू निर्माणाधीन अवस्थामा रहेका छन् ।

समुद्र सतहदेखि तीन हजार मिटरमा उचाइमा रहेको शैलुङडाँडालाई पर्यटकहरू लक्षित गरी कालापानीलाई बेस क्याम्प बनाइन लागिएको गाउँपालिका अध्यक्ष भरतप्रसाद दुलालले बताए । वाग्मती प्रदेशको साढे दुई करोड लगानीमा गोलघर निर्माण भइरहेको छ । निर्माणाधीन गोलघरमा हलसहित १३ वटा कोठा रहने छन् । सौन्दर्यसमेत बनाउन ५० लाख रुपियाँमा बुद्धपार्क निर्माण हुन लागेको छ ।

बिज्ञापन

५७ लाख रुपियाँमा बौद्ध स्तूपा ( छोर्तेन ) निर्माण भएको छ ।
पर्यटकलाई शैलुङ जान सहजताका लागि संघीय सरकारको साझेदारीमा ५४ लाख रुपियाँमा पैदल मार्ग निर्माण भइसकेको छ । कालापनीदेखि सैलुङसम्म पाँच सय मिटरमा तीन मिटर अग्लो, चार मिटर चौडाइको एक मिटर अग्लो बार रहेको मिनीगेटवाल निर्माणका लागि चार करोड ९४ लाख रुपियाँमा ठेक्का सम्झौता भइसकेको छ ।
शैलुङडाँडामा दुई करोड रुपियाँ लगानीमा ४५ फिट अग्लो छोर्तेन निर्माणाधीन अवस्थामा रहेको छ । शैलुङ, मेलुङ र रामेछापको दोरम्बा गाउँपालिकाले २०÷२० हजार रुपियाँ लगानी गरेका छन् भने बाँकी रकम व्यक्ति, संघ संस्थाहरूबाट आर्थिक सहयोग जुट्दै गरेको बताइएको छ । गाउँपालिकाले सोही स्थानमा साढे दुई केजीको घण्टी जडान गरिसकेको छ ।

कालापानीसम्म पुग्न गाउँपालिकाले सडक व्यवस्थित गरिसकेको छ ।
गाउँपालिका १२८.६७ वर्गकिलोमिटर क्षेत्रमा फैलिएको छ । जिल्लाको एक ऐतिहासिक, धार्मिक, सँस्कृतिक र पयर्टकीय महत्व बोकेको गाउँपलिकामा २९ हजार ९९३ जनसङ्ख्या रहेको छ । गाउँपालिकामा जनजातीय बाहुल्यता रहेको छ ।