सर्वोच्चमा रमिताः तोकिए ९ इजलास, बस्यो १ इजलास मात्रै

काठमाडौं — सर्वोच्च अदालतका न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार चुडालले बिहीवार सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज तोकेको इजालास नम्बर सातमा न्यायाधीशद्वय श्रेष्ठ र चुडालले सातवटा मुद्दाको सुनुवाइ गरी अन्तिम आदेश जारी गरेका छन् ।

सर्वोच्च अदालतका अनुसार तामेलीमा राख्न पेसी चढेका सातवटा रिट निवेदनलाई न्यायाधीशद्वयले तामेलीमा राख्ने आदेश दिएर बेञ्चबाट उठेका छन् । उनीहरू बुधबारबाट इजलास फर्किएका हुन् ।

मुद्दामा आदेश जारी गरेका उनीहरूले प्रधानन्यायाधीशले बोलाएको फुलकोर्ट बैठकमा सहभागी हुने भन्दै पेसीमा रहेका अन्य मुद्दा हेर्न नभ्याउने भनेका छन् ।

तोकिएका थिए ९ इजलास
सर्वोच्च अदालतमा बिहीबारका लागि ९ इजलास तोकिएको थियो । प्रधानन्यायाधीश जबराले आजका लागि एउटा पूर्ण, एउटा एकल, र सात संयुक्त इजलास तोकेका थिए । जबराले आफ्नो लागि कुनै इजलास तोकेका थिएनन् । आज बन्दी प्रत्यक्षीकरणसहित सबै खाले मुद्दाको पेशी तोकिएको थियो ।

तर, श्रेष्ठ र चुडालबाहेक दीपककुमार कार्की, हरिकृष्ण कार्की र आनन्दमोहन भट्टराईको लागि पूर्ण इजलास,  हरिप्रसाद फुयालको एकल इजलास बसेन।

यसैगरी, न्यायाधीशद्वय मीरा खड्का र प्रकाशमान सिंह राउत, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमा, टंकबहादुर मोक्तान र कुमार रेग्मी, टंकबहादुर मोक्तान र कुमार रेग्मी तथा तेजबहादुर केसी र डा. मनोजकुमार शर्माको इजलास पनि नबसेको सर्वोच्चले जनाएको छ ।