मेस्सीको गोलसँगै पीएसजीको जित

स्ट्रार खेलाडीद्वय लियोनल मेस्सी र केलियन एमब्बाप्पेले गोल गरेको खेलमा फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले नान्टेसलाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।

पीएसजीको जितमा केलियन एमबाप्पेले दोस्रो मिनेटमा गोल गरे । खेलको ८२औँ मिनेटमा नान्टेसका डेनिसले आत्मघाती गोल गरेपछि पीएसजी २-१ ले अघि रह्यो । खेलको ८७औँ मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीलाई ३-१ को जित दिलाए । मेस्सीको यो पहिलो लिग वान गोल हो ।

बिज्ञापन

यसअघि खेलको ६५ औँ मिनेटमा गोलकिपर केयलर नाभासले रातो कार्ड पाएपछि पीएसजी १० खेलाडीमा समेटियो । खेलको ७६औँ मिनेटमा रण्डाल कोलो मुआनीले गोल गर्दै नान्टेसलाई १-१ गोलको बराबरीमा ल्याएका थिए ।  जितसँगै पीएसजीले १४ खेलमा ३७ अंक जोड्दै  शीर्ष स्थानमा रहेको छ । नान्टेस १८ अंक जोडेर ११ औँ स्थानमा रहेको छ ।