
पोखरा : कास्कीको अन्नपूर्ण गाउँपालिका–२, ढिकुरपोखरीमा ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । स्कुटर चालक अन्नपूर्ण गाउँपालिका–१, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको मृत्यु भएको हो ।

गएराती नौडाँडाबाट काँडेतर्फ जाँदै गरेको ग २१ प ४४६० नम्बरको स्कुटर रोकिराखेको ट्रकमा ठोक्किँदा अन्नपूर्ण गाउँपालिका १ नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र २८ वर्षीय सुनिल केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कास्कीका डिएसपी एवम् प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।



डिएसपी तिवारीका अनुसार मृतक सुवेदीले चलाएको स्कुटर गएराती १२ बजे ट्रकमा ठोक्किदा स्कुटरमा सवार दुइ जना गम्भिर घाइते भएका थिए ।

त्यसलगत्तै उनीहरुको उद्धार गरी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुर्याइएकामा चिकित्सकले मृत घोषित गरेको डिएसपी तिवारीले बताए । मृतकको शव पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पोष्टमार्टमका लागि राखिएको छ ।
दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।