नेपाली महिला राष्ट्रिय भलिबल टोलीको लगातार तेस्रो जित

एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली महिला राष्ट्रिय भलिबल टोलीले लगातार तेस्रो जित निकालेको छ। आयोजक बंगलादेशलाई सोझो सेटमा पराजित गर्दै नेपालले फाइनल यात्रा बलियो बनायो।

शनिबार भएको खेलमा २५-५, २५-१५ र २५-१७ को सेटमा जित हासिल गर्‍यो। नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-२ को सेटमा तथा दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा जित निकालेको थियो।

बिज्ञापन

लगातार तीन जितसहित नेपाल ८ अंक जोडेर शीर्ष स्थानमा रहेको छ। महिलातर्फ आयोजक बंगलादेश,  किर्गिस्तान,  माल्दिभ्स,  नेपाल,  श्रीलंका र उज्वेकिस्तान गरी ६ राष्ट्रको सहभागिता छ।

राउन्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन्। त्यस्तै,  तेस्रो र चौथो टोलीले तेस्रो स्थानको लागि प्रतिस्पर्धा गर्नेछ। फाइनल २९ डिसेम्वरमा हुनेछ।