पृथ्वीनारायण शाह हिँडेको पदमार्ग बिउँताउँदै नेपाली सेना

तत्कालीन राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरणको अभियानका क्रममा काठमाडाैंसम्म यात्रा गरेको बाटोलाई नेपाली सेनाले एकीकरण पदमार्गका रूपमा विकास गर्ने योजना बनाएको छ। पदमार्गको विकासका लागि नेपाली सेनाले उक्त मार्ग भएर पद यात्रा गर्दै आएको छ।

सोही क्रममा बुधवार तेस्रो पटक नेपाली सेना रिपुमर्दन गणको आयोजना, गोरखा नगरपालिका, भीमसेन थापा गाउँपालिकाको समन्वयमा पद यात्रा सुरु भएको श्री रिपुर्मदन गण गोरखाका गणपती हेमराज बिष्टले बताए।  पदयात्रामा नेपाली सेनाका ४० जना सहभागी छन्। गोरखादेखि सुरु भएको पदयात्रा पुस २७गते पृथ्वीजयन्ती एवं राष्ट्रिय एकता दिवसका दिन हनुमानढोकामा आएर टुङ्गिने छ।  राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको एक टोली गोरखा दरबारस्थित हनुमान भञ्ज्याङबाट बुधवार बिहान हिँडेको छ।

बिज्ञापन

गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट(घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ। पृथ्वीनारायण शाहकालीन सेनाको पोशाकमा र केही झण्डा बोकेर टर्च लाइट बोकेर नौमती बाजागाजासहित यात्रामा सहभागी छन्।

गोरखबाट हिँडेको टोलीले भिमसेन ८ घाटबेसीमा धादीङको शिवदल गणको टोलीलाई झण्डा र टर्च हस्तान्तरण गर्नेछ। धादिङको टोलीले नुवाकोटको जवरजङ्ग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली पुस २७ मा काठमाडाैं पुग्नेगरी यात्रा तय भएको रिपुर्मदन गण गोरखाका गणपति बिष्टले बताए।

नेपाली सेनाको पाँच प्रथम गण श्री नाथ, कालि बक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको झण्डा यात्रामा रहेका सेनाले बोकेका छन्। पदयात्रामा सहभागी टोलीलाई गोरखा दरबारस्थित हनुमान भञ्ज्याङमा आयोजित एक कार्यक्रमका बीच मध्य कमाण्ड हेडक्वाटरका कमाण्ड सेनापती बाबुराम श्रेष्ठ, गोरखा नगरपालिकाका मेयर राजनराज पन्त, प्रमुख जिल्ला अधिकारी शंकरहरी आचार्यलगायतले बिदाइ गरेका थिए।