देशभर थपिए साढे ८ लाख मतदाता

काठमाडौं- निर्वाचन आयोगको मतदाता नामावली सङ्कलन विशेष अभियानअन्तर्गत आठ लाख ४९ हजार ७५३ जनाले नामावली दर्ता गराएका छन् । आयोगको एकमहिने विशेष अभियान मङ्सिर १७ गते सुरु भई पुस २० गते सम्पन्न भएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जिल्ला दर्ता कार्यक्रममार्फत करिब आठ लाख १७ हजार र बाह्य जिल्ला दर्ता (ओडीआर) मार्फत ३२ हजार जनाको नामावली थपिएको जानकारी दिए ।

सबैभन्दा बढी प्रदेश २ बाट करिब दुुई लाख २९ हजार जनाले नाम दर्ता गराएका छन् ।

लुम्बिनी प्रदेशबाट एक लाख ८३ हजार र प्रदेश १ बाट एक लाख २२ हजारले नामावली दर्ता गराएका छन् ।

बागमती प्रदेशमा करिब एक लाख ३८ हजार जनाको नामावली सङ्कलन गरिएको आयोगले जनाएको छ ।

आयोगले स्थानीय तहमै पुुगेर मङ्सिर १७ देखि १६ वर्ष उमेर पुगेका नागरिकको नामावली विवरण सङ्कलन सुरु गरेको थियो ।