आजको मौसम : कहाँ ढाक्छ कुहिराले, कहाँ लाग्छ घाम ?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेका कारण प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरूमा आंशिक बदलीको अवस्था रहेको छ । तराईका धेरै स्थानहरूमा हुस्सु/कुहिरो लागीरहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

मंगलबार पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। देशका पहाडी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

देशभर चिसो अझै बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ ।

ता बुधबार पनि सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ र बाँकी भू-भागको मौसम सामान्यतया सफा रहनेछ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

त्यस्तै बिहीबार देशभर आंशिकदेखि सामान्यतया बदली रहनेछ। हरेक प्रदेशका थोरै-थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।