आदिवासी जनजाति संघका सभापति गुरुङले दिए पदबाट राजीनामा

काठमाडाैं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन्। आदिवासी जनजाति संघका सभापति गुरुङले आदिवासी जनजातिलाई पार्टीले बेवास्ता गरेको गुनासोसहित उक्त पदसहित क्रियाशील सदस्यता पनि त्यागेका हुन् ।

गत माघ ११ गते पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै पत्र लेखेर पार्टीको क्रियाशील सदस्यबाट पनि राजीनामा दिएको गुरुङले जानकारी दिएका छन्। महाधिवेशन गराउन खोज्दा पार्टीले नगरेको, जनजातिको बिदा कटौती तथा महाधिवेशन प्रतिनिधि छनोट गर्दा संस्थालाई विभेद गरिएको बताउँदै उनले राजीनामा दिएका हुन् ।

बिज्ञापन

उनले सभापति शेरबहादुर देउवालाई राजीनामा बुझाएका छन् । संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा बुझाए पनि पार्टीबाट आजसम्म स्वीकृत नभएकाले महाधिवेशन गर्नसमेत नपाइएको उनले राजीनामा पत्रमा उल्लेख गरेका छन्।