चार दिवसीय सिरिजः नेपाल र ओमानबीचको खेल सुरू

काठमाडौं — आईसीसी टी–२० विश्वकप ग्लोबल छनोट खेल्नुअघि चार देश सम्मिलित टी–२० सिरिजको पहिलो खेलमा नेपाल र ओमानबीचको खेल बिहीबार अपराह्न ३ः४५ बजेदेखि  सुरू भएको छ ।

अल अमेरेट क्रिकेट मैदानमा टस जितेर नेपालले बलिङ रोज्दै घरेल टिम ओमानलाई ब्याटिङको निम्तो दिएको छ ।

बिज्ञापन

आजको टससँगै नेपालका युवा खेलाडी सन्दीप लामिछानेले पनि कप्तानमा डेब्यु गरेका छन् । पछिल्लो समय क्यानले कप्तान ज्ञानेन्द्र मल्ललाई हटाएर सन्दीपलाई कप्तान बनाएको थियो । सन्दीप नेपालको दशौं कप्तान पनि हुन् ।

आज नेपालका युवा स्पिनर सागर ढकाल र अलराउण्डर विवेक यादवले सिनियर टोलीबाट डेब्यु गरेका छन् । कुशल भुर्तेल र करण केसी अन्तिम–११ मा छैनन् ।

ओमानविरुद्ध खेल्ने नेपाली टोली
सन्दीप लामिछाने (कप्तान), आसिफ शेख, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेषावकर, आरिफ शेख, अभिनाश बोहरा, कमलसिंह ऐरी, विवेक यादव, सागर ढकाल र प्रदीप ऐरी ।

नेपालले विजयी लक्ष्य हासिल गर्ने उद्देश्यका साथ मैदान उत्रिएको छ ।

सिरिजको तालिका 
माघ २९ (१२ फेब्रुअरी) – नेपालविरुद्ध युएई
फागुन २ (१४ फेब्रुअरी) – नेपालविरुद्ध आयरल्यान्ड

प्रत्यक्ष प्रसारण:
नेपालमा खेलको प्रदर्शन हिमायल टिभी, युटुबमा ओएसआर स्पोर्ट्स र दराज एप्सबाट हेर्न सकिने छ । आइसिसी लाइभ र फ्यान कोर्डबाट विदेशमा हेर्न सकिनेछ ।

ग्लोबल छनोट र तालिका
सिरिजपछि नेपालले फेब्रुअरी १८ देखि २४ तारिख विश्वकप छनोट खेल्नेछ । विश्वकप छनोटमा आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा नेपाल, क्यानडा, ओमान र फिलिपिन्स छन् । समूह बी मा आयरल्यान्ड, युएई, बहराइन र जमर्नी छन् ।

प्रतियोगिता फाइनल पुग्ने दुई टोलीले आगमी अक्टोबर नोभेम्बरमा अष्ट्रेलियामा हुने टि२० विश्वकपमा स्थान बनाउनेछन् ।

टि–२० विश्वकप छनोट तालिका
फागुन ६ (१८ फेब्रुअरी) – नेपालविरुद्ध ओमान
फागुन ७ (१९ फेब्रुअरी) – नेपालविरुद्ध फिलिपिन्स
फागुन ९ (२१ फेब्रुअरी ) – नेपालविरुद्ध क्यानडा

फागुन १० (२२ फेब्रुअरी ) – पहिलो सेमिफाइनल (समूह ए को विजेता र समूह बी को उपविजेता)

फागुन १० (२२ फेब्रुअरी) – दोस्रो सेमिफाइन (समूह बी को विजेता र समूह ए को उपविजेता)

फागुन १२ (२४ फेब्रुअरी) – फाइनल (सेमिफाइनल ए र सेमिफाइनल बी बीचको विजेता)