सम्झौता भएको १ हजार ६८२ दिनपछि एमसीसी विधेयक संसदमा प्रस्तुत
काठमाडौं । नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सम्झौता संघीय संसद् सचिवालय, प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको १ हजार ६८२ दिनपछि आइतबार बैठकमा प्रस्तुत भएको छ ।

एमसीसी विधेयक प्रतिनिधिसभामना पेश भएपछि बैठक आउँदो बिहीबारसम्मका लागि स्थगित गरिएको छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् । कार्कीले नै २०७४ भाद्र २९ गते अर्थमन्त्रीका रूपमा नेपालको तर्फबाट सम्झौतमा हस्ताक्षर गरेका थिए ।

उक्त सम्झौतालाई केपी शर्मा ओली नेतृत्वको सरकारका अर्थमन्त्री युवराज खतिवडाले अनुमोदनका लागि संसद्मा पठाएका थिए ।
कार्कीले एमसीसी पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले भने, ‘प्रतिनिधिसभाको अर्को बैठक २०७८ फागुन १२ गते बिहीबार दिउँसो १ बजे बस्नेछ ।’
प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता भएको एमसीसी सम्झौतालाई सरकारको तर्फबाट मन्त्री कार्कीले संसद्को बैठकमा प्रस्तुत गरेका हुन् ।

दर्ता भएको सन्धि वा सम्झौतालाई सम्बन्धित मन्त्रीले प्रस्तुत गर्नुपर्ने प्रतिनिधिसभा नियमावली, २०७५ को व्यवस्थाअनुसार उनले प्रतिनिधिसभा बैठकमा टेबुल गरेका हुन् । तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले एमसीसी संसद्मा दर्ता गराएकाले हाल अर्थमन्त्री जनार्दन शर्माले सरकारको तर्फबाट सभामा प्रस्तुत गर्नुपर्ने हुन्छ । अर्थमन्त्री उपस्थित नभएकाले कार्कीले पेश गरेका हुन् ।