
काठमाडाैं । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित ५६२ जना नेपालीहरू सुरक्षित स्थानमा पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरू सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतका देशमा पुगेका हुन।
अहिलेसम्म पोल्यान्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेका हुन् । युक्रेन युद्धबाट बिस्थापित भएर बिभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरू सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुकतर्फ लागेका हुन । उनीहरूमध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क पुगेको संघका महासचिव राज कुमार थापाले जनाकारी दिए । उनीहरूलाई एनआरएन पोर्चुगलले आवश्यक कानुनी तथा व्यवहारिक विषयमा सुझाव र सहयोग प्रदान गर्दै आएको छ।
यसैबीच युक्रेनको खारकिभ शहरमा अलपत्र परेका कमल पोखरेलसहित ६ जनाको समूह सुरक्षित ढंगले पोल्यान्डको सीमा क्षेत्रमा पुगेको उच्चस्तरीय समितिका सदस्य सचिव डा. चिरञ्जीवी खड्काले जानकारी दिए ।
युक्रेनबाट विस्थापितहरूलाई नेपाली समुदायकै सहयोगमा बिभिन्न स्थानमा खाना, बस्न र सामान्य उपचारको बन्दोबस्त समेत गरिएको बर्लिनस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासले युक्रेनबाट निस्केका नेपाली नागरिकहरूलाई भारत सरकारबाट सञ्चालित उडानमार्फत नेपाल पठाउन आवश्यक पहलसमेत भइरहेको जनाएको छ । उद्धार समितिले युक्रेनबाट विस्थापित भएका नेपालीहरूको नियमित रुपमा तथ्यांक संकलन गर्दै आएको छ ।