
काठमाडौं । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रविन्द्र मिश्रले कहिले विचारको बन्धन, कहिले बहकिएर नेतृत्व चयन गर्दा देशमाथि धेरै घात भइसकेको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै मिश्रले ‘विचारको बन्धन’ भनेर अन्य राजनीतिक दल र ‘बहकिएर’ भनेर स्वतन्त्र उम्मेदवारलाई लक्षित गरेका हुन् ।



‘स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नैपर्छ भनेर बारम्बार भनेँ-इमानदारी, क्षमता र परिपक्वता,’ उनले लेखेका छन्,‘इमानदारी र क्षमताको परीक्षण हुँदै जाला, परिपक्वता भएन भने कस्ता कच्चा काम हुन्छन्, परिणाम देखिन थालेको छ ।’

यो अभिव्यक्तिपछि उनले अगाडि लेखेका छन्,‘कहिले विचारको बन्धनमा बाँधिएर, कहिले बहकिएर नेतृत्व चयन गर्दा, गर्दा, हामीले यो देशमाथि धेरै घात गरिसकेका छौं ।’
अब संघीय निर्वाचन आइरहेकोले इमानदारी, क्षमता र परिपक्वतालाई उच्च महत्व दिन उनले आग्रह गरेका छन् । ‘बहकिने काम नगरौं । विचारभन्दा माथि देशलाई राखौं,’ उनले लेखेका छन् ।