
काठमाडौं, २ चैत्र । नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । सरकारले १ चैत्रमा मन्त्रिपरिषदको बैठक डाकेर संसद् अधिवेशन अन्त्यको सिफारिश राष्ट्रपतिसमक्ष गरेपछि सोहीबमोजिम निर्णयसमेत भइसकेको छ । त्यसबारे एमालेले समीक्षा गर्ने बताइएको छ ।
आज ३ बजे डाकिएको एमाले संसदीय दलको बैठकमा संसद् अधिवेशन अन्त्यपछि सरकारले चाल्नसक्ने कदमबारे पनि छलफल हुने बुझिएको छ । संसद् अधिवेशन नहुँदा विभिन्न समयमा अध्यादेश ल्याउने परिपाटी विकास हुँदै आएको छ ।
सरकारले अध्यादेशहरू ल्याउने सम्भावना पनि रहेको बुझिएको छ । संसद्मा विचाराधीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव पनि अधिवेशन अन्त्य सँगै अड्किएको छ । यसबारे पनि एमालेको चासो देखिन्छ ।
एमालेले केही न्यायाधीशहरूमाथि महाभियोग लगाउन खाली कागजमा सांसदहरूको हस्ताक्षरसमेत संकलन गरेर राखेको छ । अर्कोतर्फ, सभामुख अग्निप्रसाद सापकोटालाई हटाउने प्रस्ताव पनि ल्याउने तयारीको चर्चा थियो ।
अब विशेष अधिवेशन मागेर मात्र यी प्रक्रियाहरू अगाडि बढाउन सकिने अवस्था छ । एमालेले सबै विषयमाथि छलफलको तयारी गरेको बुझिएको छ ।