
हेटौँडा : मकवानपुरको बागमती गाउँपालिका–८ स्थित जनता माध्यमिक विद्यालयका शिक्षकले सोही विद्यालयका १५ छात्रामाथि यौन दुर्व्यवहार गरेको पाइएको छ।
विद्यालयमा अध्ययनरत १५ जना छात्रालाई शिक्षकले दुर्व्यवहार गरेको भन्दै विद्यार्थीले विद्यालयमा तालाबन्दीसमेत गरेका छन्। विद्यालयका ३ जना शिक्षकले कक्षा ४, ५, ६, ७ र ८ मा पढ्ने १५ जना छात्रामथि यौन दुर्व्यवहार गरेको भन्दै विद्यालयमा तालाबन्दी भएको मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुरेन्द्रबहादुर गुरुङले जानकारी दिए। पीडित १५ जना छात्रा तथा ६ जना अभिभावकले शिक्षकमाथि कारबाहीको माग गर्दै चैत ११ र २० गते नै विद्यालयमा उजुरी दिएका थिए। ११ र १२ गते बालिकाले छुट्टाछुट्टै उजुरी दिएको र २० चैतमा अभिभावकले पुनः विद्यालयमै उजुरी दिएको विद्यालयका प्रधानाध्यापक वसन्त राईले जानकारी दिए।
छात्राहरूको उजुरीपछि एक हप्ताअघि आरोपित शिक्षकलाई ३ दिनका लागि प्रअ राईले निलम्बन गरेका थिए। निलम्बन फुकुवा भएपछि पनि शिक्षकहरू विद्यालय नआएको उनको भनाइ छ। सोही विषयमा छलफल गर्न मंगलबार विद्यालय परिसरमा बैठक बसेको थियो तर बैठकमा भएको छलफलमा चित्त नबुझेको भन्दै विद्यार्थीले विद्यालयमा तोडफोड गर्दै तालाबन्दी गरेको विद्यालयका प्रधानाध्यापक राईले बताए।
‘राजनीतिक दलसहित विद्यालय व्यवस्थापन समिति, शिक्षकहरू र विद्यार्थीलाई समेत राखेर हामी छलफल गर्दै थियौं’, उनले भने, ‘छलफलका क्रममा चित्त नबुझेपछि बाहिर निस्किएर विद्यार्थीहरूले तोडफोड गर्दै तालाबन्दी गरेका छन्।’ उनले तोडफोडबाट विद्यालयको डिजिटल स्क्रिन, प्रोजेक्टर, बेन्च, गमला, डस्टबिन फुटेको बताए।
इलाका प्रहरी कार्यालय फापरबारी प्रमुख कमलकुमार निगेलीले यौन दुर्व्यवहारको आरोप लागेका शिक्षकहरू बिदामा बसेको बताए। उनका अनुसार पीडित छात्राहरूले कक्षा कोठामा पढाउने क्रममा शिक्षकहरू हेम विक, लोक विक र रुद्र विकले संवेदनशील अङ्गमा हात लैजाने गरेको आरोप लगाएका छन्।
उनले पीडित छात्राहरूलाई परामर्शका लागि प्रदेश सरकारबाट खटिएका विद्यालय नर्ससँग पठाएको जानकारी दिए। उनका अनुसार छात्राले विद्यालय नर्ससँग घटनाबारे खुलेर कुरा गरेका थिए। पीडित छात्राहरू आरोपित ३ शिक्षक विद्यालयमा आए पढ्न जान नसक्ने मनस्थितिमा रहेको प्रहरी निरीक्षक निगेलीले बताए।
प्रहरी निरीक्षक निगेलीका अनुसार विद्यालयले घटनाबारे यसअघि कुनै जानकारी गराएको थिएन। पीडित बालिका र अभिभावकहरूले विद्यालयसँगै रहेको इलाका प्रहरी कार्यालयमा भने उजुरी नदिएको उनको भनाइ छ।
‘उहाँहरू उजुरी लिएर विद्यालयमा पुग्नु भएको रहेछ। हामीकहाँ आउनु भएन। हामीलाई पनि पछि थाहा भयो। यसबारे विद्यालयले पनि हामीले कुनै जानकारी गराएको थिएन’, निगेलीले उनले भने। उनले हालसम्म प्रहरीको उजुरी नपरेकाले आरोपितलाई पक्राउ नगरेको भन्दै गम्भीर विषय भएकाले अनुसन्धान गरी दोषी देखिए कारबाहीका लागि प्रक्रिया अगाडि बढाउने बताए।