गंगालालमा मुटुको शल्यक्रियाका लागि पुगेका बिरामी धमाधम फर्काइँदै

काठमाडौं ।  देशकै ठूलो मुटुको उपचार हुने अस्पताल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा पछिल्ला केही दिनयता विरामीहरुले उपचार पाउन सकेका छैनन् । देशका विभिन्न स्थानबाट गएका विरामीहरुको विचल्ली भएको छ । इमर्जेन्सीबाहेक मुटुको शल्यक्रिया सेवा स्थगित भएको छ ।

अस्पतालमा मौज्दात रहेको अक्सिजेनेटर सकिएपछि भर्ना भएका बिरामीलाई समेत फर्काइएको छ । नयाँ बिरामी भर्ना लिइएको छैन । भर्ना भएका मध्ये पनि ४५ जना बिरामीलाई अन्यत्र पठाइएको अस्पताल प्रशासनले जनाएको छ ।

अक्सिजेनेटर छिटो ल्याउन सक्दो प्रयास गरिरहेको अस्पताल प्रशासनले जनाएको छ । केही महिनायता विश्व बजारमा नै अक्सिजेनेटरको अभाव भएका समाचारहरू आइरहेका छन् । यही जुलाई पहिलो साता भारतका अस्पतालहरूमा अक्सिजेनेटर अभाव भएपछि ठूलो संख्यामा ओपन हार्ट सर्जरी प्रभावित भएको समाचार भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका थिए ।

विश्वव्यापी अभावको प्रभाव नेपालमा पनि परेकाले अक्सिजेनेटर समयमा आइनपुगेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीको भनाई छ। उहाँले भन्नुभयो,“पहिलो कुरा, हामीले आकस्मिक शल्यक्रिया रोकेका छैनौँ । बालबालिकामा प्रयोग हुने अक्सिजेरेटर अहिले पनि हामीसँग छ, अन्य बिरामीलाई मात्र भर्ना लिन नसकिएको हो। अहिलेसम्मको अवस्था हेर्दा तत्काल अक्सिजेरेटर ल्याउन सक्ने सम्भावना कम रहेको पनि उहाँले बताउनुभयो ।

ओपन हार्ट सर्जरीका क्रममा अक्सिजनेटरले कार्बन डाइअक्साइड हटाउँने र रक्तसञ्चारमा अक्सिजन थप्ने र त्यसपछि धमनीहरूमा फर्किने भएकाले यो अतिनै पहत्वपूर्ण मानिन्छ ।

पछिल्लो समय रुस–युक्रेन युद्धका कारण मेडिकल सामग्रीहरूको उत्पादन र आयातमा विश्वभर नै प्रभाव परेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।