
एजेन्सी । चीनको संघाई सहरमा एकैदिन कोभिड-१९ का २० हजार नयाँ संक्रमित थपिएका छन् ।

सहरभर कोरोना परीक्षण भइरहेको समयमा संघाईमा लगातार छैटौं दिन नयाँ संक्रमितको संख्याले नयाँ उचाइ छाएको हो । बिहीबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा १९ हजार ९८२ नयाँ संक्रमित थपिएका छन् ।



नयाँ संक्रमितमध्ये लक्षण देखिएका संक्रमितको संख्या भने ३२२ मात्र छ । अघिल्लो दिन लक्षण सहितका संक्रमितको संख्या ३११ थियो । बाँकीमा भने कुनै लक्षण देखिएको छैन ।

संघाईमा ओमिक्रोन भरियन्टसहितको कोरोना संक्रमण फैलिएसँगै ठूलो संख्यामा मानिसहरु संक्रमित भएका हुन् । यससँगै चीन सरकारले सहरमा कोरोना नियन्त्रणको लागि आवश्यक कदम चाल्न भन्दै स्वास्थ्य नियामकलाई पत्र पठाएको छ ।
साथै विभिन्न प्रान्त तथा चिनियाँ सेनाले पनि कोरोना नियन्त्रणको लागि स्वास्थ्यकर्मीहरु तथा स्वास्थ्य सामग्रीसहितको टोली संघाई पठाएका छन् । मार्च १ बाट पछिल्लो कोरोनाको लहर सुरु भएयता संघाईमा अहिलेसम्म १ लाख १४ हजार कोरोना संक्रमित फेला परिसकेका छन् ।
अहिले २ करोड ५० लाख मानिसको बसोबास रहेको संघाई सहर पूरै लकडाउन गरिएको छ । साथै संघाईको स्वास्थ्य नियामकले सहरव्यापीरुपमा कोरोना परीक्षण गरेर संक्रमण शून्यमा झार्ने लक्ष्य लिएको छ ।