
धनगढी । कैलालीमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किंदा भएको दुर्घटनामा २ जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत पर्ने चौकीडाँडा सडकखण्डमा गए राति भएको मोटरसाइकल ठोक्किंदा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनाबाट घाइते भएका से ४ प ४७३० नंको मोटरसाइकल चालक कञ्चनपुर कृष्णपुर नगरपालिका–५ का ३० वर्षीय लोकेन्द्र पार्की र सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नंको मोटरसाइकल चालक कञ्चनपुरकै शुक्लाफाँटा नगरपालिकाका ३२ वर्षीय पुरनकुमार मडैको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता बेदप्रकाश जोशीले बताए।



दुर्घटनाबाट मोटरसाइकलको पछाडि सवार रहेका कृष्णपुर नगरपालिकाका दीपक भट्ट र शुक्लाफाँटा नगरपालिकाका महेश पार्की पनि घाइते भएका छन् । उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्