
काठमाडौँ – काठमाडौँ उपत्यकाको मौसम एक्कासी बद्ली भइ धुम्मिएको छ । बिहान सबेरै घाम लागे पनि बिहान सात बजेपछि मौसम धुम्मिएको हो ।
अहिले दक्षिण पश्चिमी क्षेत्रबाट उत्तर पूर्वी क्षेत्रमा कालो बादल बहिरहेकाले एक्कासी मौसम धुम्म भएको मौसमविद् निराजन सापकोटाले जानकारी दिए । उनकाअनुसार मौसम बद्लीसँगै काठमाडौँ उपत्यकामा असिना पानी परेको छ । यस्तै, हावाहुरी पनि चल्ने छ ।
यस्तै, भिजिबिलिटी पनि कम हुने छ । मौसमविद् सापकोटाकाअनुसार डेढ दुई घण्टासम्म उपत्यकाको मौसम यस्तै नै रहने छ । त्यसपछि भने यो बादल हट्ने र मौसम खुल्दै जाने मौसमविद् निराजन सापकोटाले बताए ।
यसैबीच आज पनि पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली भएको छ । पहाडी क्षेत्रका एकरदुई ठाउँमा दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन्।