
म्याग्दीको सदरमुकाम बेनीमा दुई दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविर सुरु भएको छ। वरिष्ठ मुटुरोग विशेषज्ञ डा, अनिल भट्टराईको नेतृत्वमा काठमाडौँमा रहेको सेभ द हार्टको आयोजना, म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतार, इशा फाउण्डेशनको सह–आयोजनामा आयोजना गरिएको शिविरको शुक्रबार बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धोलकराज ढकालले उदघाटन गरे।

कार्यक्रमका बोल्दै ढकालले मुटु शरीरको संवेदनशील अंग भएकाले यसको सुरक्षा आवश्यक हुने बताए। उनले सरकारले जटिल रोगका विरामीहरुको उपचार निशुल्क गर्ने व्यवस्था गरेपनि रोग नै लाग्न नदिन पूर्व सचेतनाका कार्यक्रमहरु संचालन नभएको बताए।



कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भट्टराईले सेभ द हार्टले देशव्यापी रुपमा शिविर संचालन गर्दै आएको बताए। म्याग्दीसहित २३ वटा जिल्लामा विभिन्न समयमा आयोजना गरिएका ९५ वटा शिविर हाल सम्म करिव ९६ हजार मुटुरोगीको परिक्षण गरिएको डा. भट्टराईले बताए।

बेनी अस्पतालमा सुरु भएको शिविरमा मुटु परीक्षणका लागि म्याग्दी लगायत छिमेकी जिल्लाहरूबाट पनि सयौँको संख्यामा विरामी आएका छन्। अस्पताल भित्र ५ वटा ओपिडी कक्ष तयार गरि विरामी परीक्षण गर्ने व्यवस्था मिलाइएको छ। शुक्रबार बिहानैदेखि विरामीहरु लाइनमा बसेका छन्। शिविरमा डा.भट्टराईको नेतृत्वमा करिव ४० जनाको टोली उपचारमा संलग्न भएका छन्।