शेखर कोइरालाको सचिवालयले भन्यो- विराटनगरसम्बन्धी भ्रामक समाचार फैलाइयो

कांग्रेस नेता डा. शेखर कोइरालालाई जोडेर विभिन्न सञ्चारमाध्यममा आएका विराटनगर महानगरको निर्वाचनलक्षित समाचारमा उनको सचिवालयले ध्यानाकर्षण भएको जनाएको छ । एउटै शीर्षक राखेर विभिन्न सञ्चारमाध्यममा समाचार लेखिएको भन्दै सो समाचारलाई सचिवालयले नियोजित भनेको छ ।

समाचारमा डा. कोइरालासँग सम्बन्धित सबै कुरा भ्रामक र कपोकल्पित भएको उनको सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको हो ।

‘२०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेस एक्लैले विजय प्राप्त गरेको विराटनगर महानगरपालिकामा अहिले कांग्रेसको अवस्था खराब हुने कुरै आउँदैन, यतिबेला विराटनगर महानगर कांग्रेसमय भएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालासँग गठबन्धनका विषयमा कुराकानी गर्न २०७९ वैशाख १९ गते नेकपा माओवादी केन्द्रका नेताहरू भोगेन्द्र यादव र नवीन पौडेल विराटनगरस्थित कोइराला निवास आउनुभएको हो । उहाँहरूबीच गठबन्धनका बारेमा सामान्य कुराकानी भएको हो ।’

भेटघाटका क्रममा कोइरालाले अन्य स्थानमा कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारलाई सहयोग गरिरहेको भन्दै विराटनगर महानगरमा केन्द्रको गठबन्धनको मर्मअनुसार सहयोग गर्न आग्रह गरेको कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिएका छन् । ‘भेटघाटमा त्यसबाहेक कुनै पनि कुरा नभएको प्रष्ट पार्दछु,’ उनले भनेका छन् ।

केही सञ्चारमाध्यमहरूले विराटनगरमा कांग्रेस कमजोर भएको भन्ने आशयको समाचारमा कोइरालाको नाम जोडेर प्रकाशित गरेका थिए ।