भरतपुरमा गठबन्धनको शक्ति प्रदर्शन, रेनुले जिते देउवा फेरि प्रधानमन्त्री !

चितवन। सत्ता गठबन्धन दलले प्रतिष्ठाको लडाईंका रूपमा बुुझेको भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहाललाई जिताउन ५ दलले भरतपुरमा शक्ति प्रदर्शन गरेका छन्। सत्ता निर्माणका लागि बनेको ५ दलीय गठबन्धनका नेताहरूले नेकपा (माओवादी केन्द्र)की नेत्री दाहाललाई जिताउन बृहत् सभामार्फत अपिल मात्र गरेनन्, भरतपुरको गठबन्धन सफल भए आगामी निर्वाचनमार्फत कांग्रेस सभापति शेरबहादुर देउवालाई नै प्रधानमन्त्रीमा निरन्तरता दिने उद्घोषसमेत गरे ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सत्ता गठबन्धनलाई सफल पार्न गठबन्धनका उम्मेदवारलाई जिताउनुपर्ने र गठबन्धनले जिते निर्वाचनमार्फत बन्ने सङ्घीय सरकारको नेतृत्वमा देउवालाई अघि लगाएर हिँड्ने समेत बताए। उनले आफूलाई विगतमा अस्थिर भएको आरोप लाग्दै आए पनि यस पटक सङ्घीय निर्वाचन हुँदै आवश्यक परे १० वर्षसम्म वर्तमान गठबन्धनबाट ढलपल नहुने घोषणासमेत गरे । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीभित्रको असन्तुष्टि थन्क्याएर रेणुलाई मत हाल्न अपिल मात्र गरेनन्, गठबन्धनलाई लामो समय निरन्तरता दिन चाहेको समेत बताए।

बिज्ञापन

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले भरतपुरको गठबन्धन जसरी पनि सफल हुने दाबी गर्दै वर्तमान गठबन्धन दलकै नेतृत्वमा सङ्घीय सरकारसमेत बन्ने बताए। नेपाली कांग्रेसका अधिकांश नेताहरूको चिन्ता थियो– प्रचण्डले फेरि धोका पो दिने हुन् कि ! उनीहरूमा प्रचण्डप्रति आशङ्का किन भयो ? २०७४ सालको स्थानीय तह निर्वाचनमा भरतपुर महानगरमा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो।

त्यहाँ माओवादीबाट रेणु दाहालले प्राुख जितिन् भने उपप्रमुखमा कांग्रेसबाट पार्वती केसी विजयी भइन्। स्थानीय तह निर्वाचनमा कांग्रेससँग तालमेल गरेको माओवादीले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा भने नेकपा एमालेसँग तालमेल गर्नुका साथै पार्टी एकता नै गराए, जसले गर्दा कांग्रेस त्यहीबेलादेखि माओवादीसँग सशङ्कित हुन थालेको हो ।

त्यही कुराको आशङ्का कांग्रेस चितवनका नेताहरूले संयुक्त चुनावी सभामा पनि व्यक्त गरे । नेपाली कांग्रेस चितवनका निवर्तमान सभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई धोका नदिन आग्रह गरे । चुनावी सभामा सम्बोधन गर्दै उनले भने, ‘हाम्रो सोझो सभापति जे भन्यो, त्यही गर्नुहुन्छ, भोलिका दिनमा ढाँट्ने काम, धोका दिने काम नहोस् । जे प्रतिबद्धता ५ वर्षअघि गरेका थियौँ, त्यो ३ महिनापछि टुट्यो ।’ उनले गठबन्धनका उम्मेदवारलाई भरतपुरमा कांग्रेसले एक ढिक्का भएर जिताउने बताए । कांग्रेस चितवनले जसरी पनि रेणुलाई जिताउने भन्दै माओवादीले धोका दिन नहुने उनको भनाइ थियो।

त्यस्तै, नेपाली कांग्रेसका केन्द्रीय सदस्य टेकप्रसाद गुरुङले सत्तारूढ गठबन्धनलाई निरन्तरता दिनुपर्ने बताए । गठबन्धनका नेताहरूले गठबन्धनको निरन्तरता हुने प्रतिज्ञा गरे मात्र चितवनका नागरिकले विश्वास गर्ने बताए । विगतमा कांग्रेस चितवनलाई धोका दिएको स्मरण गराउँदै उनले गठबन्धन निरन्तरता हुने प्रतिज्ञा मागेका हुन् । चुनावका लागि गठबन्धन गर्ने र चुनावपछि बिर्सने प्रवृत्तिका कारण गठबन्धनप्रति शङ्का उत्पन्न भएको उनले बताए ।

‘नेताज्यूहरूले यो गठबन्धन निरन्तर जान्छ भन्ने प्रतिज्ञा गर्नुप¥यो, तब मात्र चितवनका जनताले विश्वास गर्छन् । तपाईंहरूले यो गठबन्धन निरन्तर लाने प्रतिज्ञा गर्नुहोस् । हामी तलका कार्यकर्ता तपाईंहरूको पछिपछि लाग्छौँ’, उनले भने ।