नेपाल आइडल रवि वड पाँच वर्षअघि म्यादी प्रहरी थिए

पाँच वर्षमा कति कुरा परिवर्तन हुने रहेछ ।

गायक रवि वडको मोबाइलमा केही दिनअघि टुप्लुक्क आइपुगेको म्यासेजले अनुभूत गरायो । ‘भाइ, त्यो बेला हामी सँगै म्यादी प्रहरी थियौँ । चार वर्षपछि फेरि उसैगरी बुथ हेर्न आयौँ,’ एक जना दाइले म्यादी हुँदाको रविको हँसिलो फोटो पठाएर सम्झाए ।उनले सम्झिए- म्यादी प्रहरीको पोशाकमा लौरो बोक्दै बुथलाई सुरक्षा दिन खटिएको रवि वड । जो गाउँथ्यो, नाच्थ्यो । टिमका सब साथीहरूबाट तारिफ बटुल्थ्यो ।‘यस्ता रमाइला दिन थिए है दाइ १ अहिले तपाईंहरूकै मायाले यो चर्चा हासिल गरेको छु,’ खुसी मनले लामो श्वास तान्दै ती दाइलाई भन्छन् ।

बिज्ञापन

ठीक चार वर्षअघि मतदानस्थलमा सुरक्षाका लागि सतर्क भएर उभिनुपर्थ्यो । त्यतिबेला न मतदाताले चिन्थे, न उम्मेदवारले । ‘अहिले त उम्मेदवारहरूको फोन र म्यासेजले धानिनसक्नु हुन्छ । हिजो गार्ड भएर उभिनुपर्थ्यो । आज अतिथि भएर उभिइदिन उहाँहरूको आग्रह हुन्छ । तर, कसैकोमा गए पो,’ रवि सुनाउँछन् ।चुनाव नजिकिँदै गर्दा ‘नेपाल आइडल सिजन– २’ का विजेता रविलाई उतिबेला म्यादीमा जागिर खाँदाका दिनहरू बल्झिरहेछन् ।मनमस्तिष्कमा संगीत बोकेर हिँडे पनि गरिबीको नमिठो धुन बजिरहन्थ्यो रविको जीवनमा । गीत गाएर बिग्रियो भन्नेहरू थिए । घरको जेठो छोरा । तर, कामविहीन हुँदा निराश थियो परिवार । त्यतिबेला रविलाई कुनै हालतमा गर्नु थियो काम ।

भौँतारिइरहेको बेलामा स्थानीय तहको चुनाव नजिकियो । कञ्चनपुरमा म्यादी प्रहरीको भर्ना खुल्यो । दुई महिनामा ४५ हजारभन्दा माथि कमाइने । उनले म्यादीमा भर्ना हुनका लागि फारम भर्न खोजे । तर, म्यादीका लागि पनि पहुँच लगाउनुपर्ने । रविको पहुँचमा माथिल्लो तहमा कोही थिएनन् । तर, पनि आफ्नै बुताले सक्छु भन्ने आत्मविश्वास थियो उनमा । दर्ता नम्बर आयो । फिटनेस राम्रै थियो । दौडमा दोस्रो भए । अरु जेजे प्रक्रिया हुन्थे, रविले पार गरिछाडे । र, लिखितमा उनको नाम निस्कियो । नाम निस्किएको दिन, के चाहिँ भएन । खुसीको सीमा रहेन । ‘मनमा डर थियो । ५९ नम्बरमा नाम निस्केको थाहा पाएपछि  म र परिवार निकै खुसी भयौँ,’ रवि सुनाउँछन् ।

म्यादी उनको पहिलो जागिर थियो । आफन्तको दबाब थियो- सरकारी जागिर खाऊ ।प्रयास नगरेका होइनन् । त्यसअघि खरिदारको तयारी गरेका थिए । नाम निस्किए पो । ‘जे होस्, छोराले सरकारी जागिर खायो,’ आफन्तमा खुसीको सञ्चार भयो । जागिर तीन महिनासम्म लम्बियो । उनी प्रहरी अधिकारीहरूमाझ लोकप्रिय कहलिइसकेका थिए । गायन कला र नृत्य प्रस्तुतिले सबैको मन छोएको थियो । उनीबाट प्रभावित प्रहरीहरू भन्थे, ‘रवि, तिम्रो फिटनेस पनि राम्रो छ । प्रहरी बन, हामी सहयोग गरौँला ।’ड्युटीमा कहिले राति १२ बजेदेखि बिहान ६ बजेसम्म अनिदो बस्नुपर्थ्यो । कहिले दिउँसो खटिनुपर्थ्यो । काम गरिरहँदा रविलाई लाग्थ्यो( मैले पनि देशका लागि योगदान गरिरहेछु । चुनावको बेला डर पनि लाग्यो । सुन्थे- कतैकतै झडप र दुर्घटनाका समाचार । ‘त्यतिबेला भने  डर लागिरहन्थ्यो । धन्न, त्यस्तो केही भएन,’ रवि सम्झन्छन् ।

रविसँग साधारण स्मार्ट मोबाइल थियो । साथीभाइले चलाएका मोबाइल देख्दा आफूले पनि राम्रै किन्ने रहर त नपलाएको होइन । पहिलो जागिरले उनले आफ्नो रहर पूरा गरे । १२ हजारमा ओप्पो ब्राण्डको मोबाइल किने । ‘बाँकी घरखर्च, ऋण तिरेँ । भाइबहिनीको पढाइ खर्च धानेँ,’ पहिलो कमाइबारे उनी सम्झन्छन् ।पक्का थियो, रविले प्रहरीको असईमा जागिर खाने । फिटनेस, दौड होस् वा जम्पिङ, उनी त्यसका पारखी थिए । आफूसँगै गएका दुई साथी पनि उत्तिकै योग्य । ‘तिमीहरू योग्य छौ, नाम निकाल्छौ,’ उनीहरूका गुरुले भन्थे ।

तर, उनी छानिएनन् । कारण, हातमा खोपेको संगीतको ट्याटु । ट्याटुले उनको चाहेको ठूलो अवसर गुम्यो । उनी निराश हुँदै फर्किए । भित्रभित्रै रोए । संयोग भनुँ, त्यही ट्याटुले धरधरी रुवाएको रविलाई त्यही ट्याटुले बिर्सनै नसक्ने खुसी पनि दिलायो । ‘यदि ट्याटु थिएन भने म असई हुन्थेँ । तर, गायक हुन्नथेँ । मेरो जीवन अर्कै हुन्थ्यो,’ रवि सम्झन्छन् । संगीतको भोक मरेको थिएन । उनी आफ्नो सपनाको पछाडि लागिपरे । नेपाल आइडलको अडिसनमा गए । छानिए । छानिँदै गए । र, अन्त्यमा विजेता बने ।सुदूरपश्चिम सरकारले रविलाई पर्यटन प्रवर्द्धनका लागि पर्यटन दूत बनाएको छ । उनी यसकै प्रचारमा व्यस्त छन् । सांगीतिक कार्यक्रमका स्टेजमा उनको माग पनि उत्तिकै छ । अहिलेको समयका व्यस्त गायक रवि चुनाव नजिकिँदै गर्दा एउटा कुरा सम्झेर भने खुसी हुन्छन्- कुनै समय म पनि म्यादी थिएँ ।