
अछाम। साँफेबगर नगरपालिका–१३ को राष्ट्रिय मावि, बाबलामा आज पुनः मतदान भइरहेको छ।
मतदानका क्रममा हालसम्म शान्तिपूर्ण वातावरण कायम रहेको जनाइएको छ। गत वैशाख ३० गतेको मतदानमा हुलदङ्गा र विवादका कारण त्यहाँ पुनः मतदानको मिति तय गरिएको हो। उक्त नगरपालिका एमाले नेता भीम रावलको नगर हो।
वैशाख ३० गते देशभरका स्थानीय तहका मतदान केन्द्रमा निर्वाचन सञ्चालन भएकामा राजनीतिक दल तथा उम्मेदवारबीच विभिन्न कारणले विवाद उत्पन्न भई स्थगित हुन पुगेका अधिकांश केन्द्रमा मतदान सम्पन्न भइसकेको छ।स्थगन भएका ८५ केन्द्रमध्ये उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नं १२ र बाजुराको बूढीगङ्गा नगरपालिकाको मतदानबारे आयोगबाट निर्णय हुन बाँकी छ। बूढीगङ्गा नगरपालिको मतदानबारे छानबिन गर्न निर्वाचन आयोगले आयुक्त सगुनशम्शेर राणाको नेतृत्वमा गठन गरको समितिले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाइसकेको छ।