नीति तथा कार्यक्रम : खेलकुदमा के हुनुपर्थ्यो, के आयो ?

सरकारले ल्याएको नीति तथा कार्यक्रममा खेलकुद क्षेत्रमा नयाँ कुरा समेट्न नसकेको सरोकारवालाहरुले बताएका छन् ।  राखेपका पूर्व सदस्य–सचिव रमेश कुमार सिलवालले सबै विषयवस्तु पुरानै समेटिएकाले खेलकुद विकासका लागि सरकारको ध्यान नगएको प्रतिक्रिया दिए । खेलकुदको पूर्वाधार र खेल विकासका लागि समेट्नुपर्ने धेरै विषयवस्तु भएपनि त्यसप्रति सरकारको चासो नरहेको सिलवालको बुझाइ छ ।

सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्दा खेलकुदमा भने नयाँ कार्यक्रम पर्न नसकेको सिलवालको जिकिर छ । नीति तथा कार्यक्रमअनुसार नै सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्नेछ । यो वर्षको बजेटमा सरकारले खेलकुद अन्तर्गत चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउने बाहेकका नयाँ कार्यक्रम ल्याउन सकेको छैन ।धनगढीको फाप्ला क्रिकेट मैदान निर्माणका लागि बजेट छुट्याउने काम अघिल्लो वर्षको बजेटमा परेको थियो । तर, जग्गा विवादका कारण बजेट खर्च हुन सकेन । अहिले मैदानको जग्गा विवाद सुल्झिई सकेको छ ।

बिज्ञापन

त्यसैले यो वर्षको बजेटमा फाप्ला क्रिकेट मैदानका लागि पनि बजेट आउने देखिन्छ । गत वर्षको बजेटमा खेलाडीको मापदण्ड बनाई पुरस्कार, भत्ता, बिमा आकस्मिक प्रोत्साहन व्यवस्था गरिने कार्यक्रमलाई अहिले पनि निरन्तरता दिइएको छ । त्यस्तै, गत वर्षझैं यो वर्ष पनि प्रत्येक प्रदेशमा कम्तीमा एउटा प्रशिक्षण केन्द्र र सुविधासहितको अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माण गर्न सरकारले नीति लिएको छ । खेलकुद विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्ने पनि नीतिमा उल्लेख छ । सरकारले आर्थिक वर्ष २०७८/९९ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब ७४ करोड रुपैयाँ बजेट छुट्ट्याएको थियो । जुन आर्थिक वर्ष २०७७/०७८ को भन्दा ३८ करोडले बढी थियो ।

यो वर्ष पुरानै नीति तथा कार्यक्रम भएपनि बजेटमा भने बृद्धि हुने राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले अनुमान गरेको छ । परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले सरकारले पुराना कार्यक्रम ल्याएपनि बजेटमा भने बृद्धि हुने आफूहरुको आशा रहेको बताए । ‘जस्तो नीति तथा कार्यक्रम प्रस्तुत गरेपनि बजेटमा भने कन्जुस्याइँ गर्ने छैन भन्ने मैले आशा गरेको छु । मन्त्रीज्यूसँग पनि मैले धेरै बजेटको अपेक्षा सुनाएको थिएँ,’ उनले रातोपाटीसँगको कुराकानीमा भने । घिसिङले खेलाडीहरुको बिमा गर्ने विषयलाई सरकारले मुख्य प्राथमिकतामा राखेको हुँदा खुसी लागेको बताएका छन् ।

त्यस्तै फाप्ला क्रिकेट मैदान र गौतमबुद्ध क्रिकेट मैदानको निर्माणमा सरकारको स्वामित्वमा हुँदा नेपाली खेलकुदमा केही नयाँ संरचनाले पूर्णता पाउनु उपलब्धिपूर्ण हुने बताए । ‘बजेटको सिलिङ कस्तो आउँछ, हेर्न बाँकी छ । तर, क्रिकेट मैदान निर्माण हुने कुरामा म खुसी छु,’ उनले भने । उता राखेपका पूर्व सदस्य–सचिव रमेश कुमार सिलवाल भने सरकारले नीति तथा कार्यक्रममा खेलकुदमा नयाँ कुरा समेट्न नसकेको बताउँछन् । उनले नयाँ बजेटमा पुरानै विषयवस्तु समेट्नु सरकारले चुनावका लागि मात्र बजेट ल्याएको भन्न सकिने अवस्था रहेको बताए । ‘पुराना विषय समेटेर बजेट ल्याउन खोज्नु सरकारको चुनावी स्टन्ट मात्र हो,’ सिलवालले भने ।