
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको असहमतिका कारण आफ्ना पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीको सेट फेर्ने नेकपा (एकीकृत समाजवादी)को निर्णय कार्यान्वयन रोकिएको छ । पार्टी सचिवालय बैठकले पार्टीका तर्फबाट सरकारमा सहभागी ४ जना मन्त्रीलाई फिर्ता बोलाएर नयाँ नाम प्रधानमन्त्रीलाई सिफारिस गर्दै शपथ ग्रहणको प्रबन्ध मिलाउन भनेको थियो ।

पार्टी निर्णयसहित देउवालाई भेटेर सोमबार शपथ ग्रहणको प्रबन्ध गर्न आग्रह गरेर निस्किएका अध्यक्ष माधव नेपाल आफ्नो निर्णय कार्यान्वयनबाट रोकिएपछि निःशब्द भएका छन् । नेकपा एसकै मन्त्रीहरूको चर्को दबाब र सत्ता गठबन्धन आबद्ध दलका नेताहरूको दबाबमा नेकपा एस आफ्नै निर्णय कार्यान्वयन गराउन नसक्ने अवस्थामा पुगेको छ ।



यसअघि पार्टीले मन्त्रीको नाम सिफारिस गरेर पठाएपछि प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले शपथ ग्रहण गराउने प्रचलन थियो । प्रधानमन्त्री देउवाले पहिलो पटक पार्टीको सिफारिस कार्यान्वयन गर्न अस्वीकार गरेपछि नेकपा एस राजनीतिक सङ्कटमा फसेको छ ।

देउवाले संसद्मा बजेट अधिवेशन जारी रहेकाले मन्त्री फेर्दा सन्देश नराम्रो जाने तर्कसहित गठबन्धन आबद्ध दलका शीर्ष नेतालाई डाकेर तत्काल शपथ ग्रहण रोकेपछि नेकपा एस राजनीतिक सङ्कटमा छ भने गठबन्धन आवद्ध नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी र कांग्रेस स्वयंलाई समेत प्रधानमन्त्रीको कदमले तत्काललाई राहत दिएको छ ।