बाघबाट बचाउन माग गरिएको आन्दोलनमा गोली चल्यो, एक किशोरीको ज्यान गयो

बर्दिया । मधुवन नगरपालिका वडा नम्बर २ ओराली बजारको अवस्था तनावपूर्ण भएको छ । बाघको आक्रमणबाट ज्यान बचाउन माग गर्दै आन्दोलन गर्नेमाथि प्रहरीले गोली चलाउँदा एक किशोरीको ज्यान गएको छ । चार जना स्थानीय घाइते भएका छन् ।ज्यान गुमाउनेमा कक्षा १२ मा अध्ययनरत नविना थारु रहेकी छन् । अवरुद्ध गरेको बाटो खुलाउने क्रममा ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ । प्रहरी हवल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।
सुरक्षाको माग राख्दै सोमबार दिउँसो प्रदर्शनमा उत्रिएकाहरुमाथि प्रहरीले गोली चलाएको स्थानीयले बताएका छन् । घाइते किशोरीको उपचारका क्रममा आज ९मंगलबार० विहान मृत्यु भएको जनाइएको छ ।ओराली बजारका सर्वसाधारण बाघको आक्रमणबाट हैरान भएका छन् । घरमा रहँदा र घाँसपात गर्दा उनीहरू बाघको आक्रमणमा पर्ने गरेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जको नजिकै रहेको ओराली बजारमा एक वर्षको अवधिमा बाघले २६ जनालाई आक्रमण गरेको छ । आक्रमणबाट केहीको मृत्यु भएको छ । अधिकांश गम्भीर घाइते भएका स्थानीय युवा सागर चौधरीले जनाए ।बाघले आक्रमण गर्ने डरमा स्थानीयलाई हिँडडुल गर्न, बनपाखा जान र गाइबस्तु चराउन समेत डर छ । बाघको उचित व्यवस्थापन गरेर आक्रमण हुनबाट जोगाउन उनीहरूले माग गरेका छन् ।ओराली बजारबासी आजभोलि बाघको आक्रमणबाट जोगाउन माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले सोमबार हुलाकी राजमार्गमा चक्काजाम समेत गरे । स्थानीय प्रशासनसँग बाघको आक्रमणबाट ज्यानको रक्षा गर्न सर्वसाधारणले माग गरेका छन् ।