सडक भासिएको स्थानमा दुई पुरुषको शव फेला

तनहुँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४, ड्यामनजिक सडक भासिँदा दुईतर्फी सवारी आवगमनमा अवरुद्ध भएको छ। सडक भासिएको मर्स्याङ्दी नदी किनारमा दुई पुरुष शव फेलापरेको छ।

मृतक दुवैको सनाखत हुन नसकेको जिल्ला ट्राफिक कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक गोकर्ण नेपालले जानकारी दिए । पोखरा र चितवनबाट आएको गोताखोर टोलीले उक्त नदीमा खोजीकार्य गरिरहेको छ । उनले भने, “नदीमा मोटरसाइकल र कारको पाटपुर्जा भेटिएकाले मानवीय क्षति बढ्न सक्ने संकेत देखिएको छ ।”

बिज्ञापन

गए रातिदेखि परेको अविरल वर्षाका कारण सडकको तलको भाग कटान गर्दा सडक भासिएर जोखिम र राजमार्ग अवरुद्ध बनेको छ । सडकको तलको भाग भासिएकाले बेलिब्रिज नराखेसम्म सवारी आवतजावतमा सम्भव नदेखिएको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।