
चितवान । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) खारेज हुने बताएका छन् ।
पत्रकारसँग कुराकानी गर्दै आज उनले यो कार्यक्रममा एमसीसीजस्तो १२ बुँदा जारी गरेर पास गर्नै नहुने बताए । उनले भने, ‘एमसीसी १२ बुँदा घोषणासहित मात्रै पास गर्यौँ तर एसपीपीमा कुनै १२ बुँदा हुनेवाला छैन, यो खारेज हुन्छ ।’ एमसीसी र एसपीपी दुवै परियोजना पूर्वप्रधानमन्त्री केपी ओलीको नेतृत्वमा रहेको सरकारको समयमा आएको पनि उनले बताए ।
अहिलेको गठबन्धन फेरबदलको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले तत्काल गठबन्धन हेरफेर नहुने दाबी गरे । उनले भने, ‘अहिले गठबन्धन जे हो त्यही जान्छ ।’ पार्टीका एक-दुई मान्छे लाग्ने कुरा बेग्लै भएको भन्दै उनले अहिले पार्टीमा त्यस्तो नभएको बताए ।