विराटनगर महानगरपालिकाले ३ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउँदै

विराटनगर। विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि ३ अर्ब ५० करोडको बजेट ल्याउने तयारी गरेको छ । महानगरले आज सार्वजनिक गर्न लागेको नीति तथा कार्यक्रममार्फत आगामी आर्थिक वर्षको बजेट चालू आर्थिक वर्षको भन्दा झण्डै १ अर्ब कम हुनेछ ।

विराटनगर महानगरपालिकाले चालू आर्थिक वर्षका लागि ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको आय व्यय प्रस्तुत गरेको थियो । उक्त बजेटको आकार संशोधन हुने भएको छ ।

बिज्ञापन

आगामी आर्थिक वर्षको बजेट पनि ३ अर्ब ५० करोडदेखि ३ अर्ब ६० करोड भित्रमा रहेर आउने महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताए । ‘साढे ३ अर्बदेखि ३ अर्ब ६० करोडको बीचमा बजेट आउँदैछ,’ कोइरालाले भने ।

मेयर कोइरालाले बजेटमा ठूला योजना केही नसमेटिएको र भएका कार्याक्रमलाई निरन्तरता दिने उदेश्यले बजेट निर्माण गरिएको बताए ।

‘विराटनगरको बजेट घाटामा छ मेयर कोइरालाले भने, महानगरको स्रोत बलियो अवस्थामा छौन, त्यसलाई ध्यानमा राखेर बजेट आउँछ । अहिलेको बजेटमा ठूला योजना छैनन् । पहिले विराटनगरलाई नाफामा ल्याउने र मात्रै विकास निर्माणलाई तीब्रतामा लाने भनेर काम गर्दैछौं ।’

महानगरपालिका घाटामा गएको कारणले अप्ठ्यारो भएको भन्दै उनले घाटालाई पूर्ति गर्दै विकास निर्माणको काम अगाडि बढाउनु पर्दा समस्या भइरहेको बताए । ‘अर्को आउने आर्थिक वर्षमा हामी सबै दायित्वलाई पूरा गरेर तीब्र गतिमा अगाडि बढ्छौं भन्ने लागेको छ,’ उनले भने ।