
धनगढी । देशभर बलात्कार विरुद्धको चौथो राष्ट्रिय महाअभियान आइतबारदेखि सुरु भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) लगायतको सहयोगमा असार १२ गतेदेखि सातै प्रदेशमा महाअभियान सुरु भएको हो ।

बलात्कारबाट प्रभावित महिलाहरूको कानुनी तथा सामाजिक न्याय सुनिश्चितताको लागि जबर्जस्ती करणीमा हदम्याद नराखी कानुन संशोधन गर्ने, क्षतिपूर्ति तथा मनोसामाजिक उपचार एवम् परामर्शको व्यवस्था गर्ने उद्देश्यले सो अभियान चलाइएको महिला पुनर्स्थापना केन्द्र ओरेकले जनाएको छ ।



सो अभियान ६ महिनासम्म सञ्चालन हुनेछ । गएको तीन महिनामा मात्रै ओरेकमा सङ्कलन भएका जम्मा ५९० वटा महिला हिंसाका घटनालाई हेर्दा देशभर १३२ वटा यौन हिंसाका घटना रहेका छन् । यस मध्ये ७१ वटा बलात्कार र १६ वटा बलात्कारको प्रयासका घटना रहेको ओरेकले जनाएको छ ।

त्यसै गरी २०७७/७८ को तथ्याङ्कलाई विश्लेषण गर्दा दैनिक औसत ७ वटा बलात्कारका घटनाको उजुरी परेको देखिन्छ। विगतका वर्षझै यस वर्ष पनि सोही अभियानलाई निरन्तरता दिँदै कानुनी तथा सामाजिक न्यायको अधिकार हिंसा रहित समाजको आधार भन्ने नाराका साथ सुदूरपश्चिम प्रदेशबाट पनि अभियान सुरु भएको महिला पुनस्र्थापना केन्द्र ओरेक धनगढीकी संयोजक बिनु रानाले बताइन् ।
सो अभियानले बलात्कार जस्तो जघन्य अपराधको घटनामा हदम्यादको व्यवस्था खारेज, बलात्कारबाट जन्मिएका बालबालिकाहरूको आमाबाट बिना कुनै झन्झट आत्मसम्मान सहितको पहिचानको सुनिश्चितताको समेत माग गरेका छन् ।