नरोइकन बिदा भए किसान श्रेष्ठ, भने- मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन

काठमाडौं । पदबाट हात धोएका दुई मन्त्रीले हिजै बिदाई कार्यक्रममा पत्रकारहरूलाई बोलाएर आ-आफ्नो तरिकाले पीडा पोखे । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले रुवाबासी नै गरिन् ।बहिर्गमनमा परेका अर्का मन्त्री किसान श्रेष्ठले भने आफूहरू बाहिरिँदा पत्रकार सम्मेलन गरिरहनुको औचित्य नभएको बताएका थिए । हिजो संसदबाट बाहिरिँदै गर्दा पत्रकारसँग उनले भनेका थिए- नयाँ मन्त्री नियुक्त भएपछि हामी स्वत हट्छौं, किन राजीनामा दिनुपर्‍यो ? किन पत्रकार सम्मेलन गर्नुपर्‍यो ?तर, मन्त्री श्रेष्ठले हिजो आफैँले दिएको गफविपरीत आज पत्रकार सम्मेलन गरेर बिदा भए । मन्त्रालयमा आयोजित कार्यक्रममा उनलाई कर्मचारीहरूले खादा लगाएर सम्मान गरेका थिए ।

यस विषयमा प्रष्टीकरण दिँदै श्रेष्ठले मन्त्रालयको आग्रहमा बिदाई कार्यक्रममा आएको बताए ।‘मैले त नगरौँ भनेको थिएँ, तर सचिवज्यूले कसरी हुन्छ मन्त्रीज्यू भनेर आग्रह गर्नुभएपछि आज आएको हुँ,’ उनले भने ।बिदाई कार्यक्रममा मन्त्री श्रेष्ठ खासै भावुक देखिएनन् । बरु उनी ठट्यौलो रूपमा पेस भएका थिए । उनले मन्त्री पद आफ्नो लागि ठूलो विषय नभएको बताए ।उनले भने, ‘मलार्ई मन्त्री भएर पैसा कमाउने लोभलालच थिएन । आज पनि मन्त्री चढ्नेभन्दा ठूलो गाडी चढेर आएको छु ।’उनले छुट्टिँदा नरमाइलो लाग्नु स्वाभाविक भए पनि मन्त्री पद गएको चिन्ता नलिएको बताए । आफूपछि आउने मन्त्रीलाई सहयोग गर्न कर्मचारीलाई उनले आग्रह गरे ।‘अब आउने पनि हाम्रै पार्टीको मन्त्री हुनुहुन्छ, उहाँलाई पनि मलाई जस्तै सहयोग गर्नुहोला,’ श्रेष्ठले भने, ‘यदि मसित कसैको चित्त दुखेको भए आजदेखि सबै भुलिदिनुहोला ।’

बिज्ञापन