
सिरहा । सिरहामा एक बालिकालाई बलात्कार गरी आत्महत्या गर्न बाध्य पार्नेलाई पक्राउ गर्न स्थानीयहरुले माग गरेका छन् । जिल्लाको मिर्चैया नगरपालिका–१ मलहनीयाँका बर्दि सदाको १४ वर्षीया छोरी पवित्री सदालाई गाउँकै दुई युवकले सामुहिक बलात्कार गरि आत्महत्या गर्न बाध्य बनाएको भन्दै स्थानीयहरुले विरोध जनाएका हुन् ।गत सोमबार राती करिब १ बजे घरपछाडी ‘टर्च लाईट’ बलेको देखेपछि स्थानीय युवाहरु भेला भएर ‘टर्च’ बालेको क्षेत्रमा पुग्दा बाली हेरचाह गर्न बनाएको घरमा करिब २० वर्षीय विमलेश महरा र २४ वर्षीय शतिस साफी र बालिका फेला परेको गाउँलेहरुको भनाइ छ ।अघिल्लो दिन गाउँकै रामभगत सदायको मोबाइल चोरी भएकाले चोरहरु फेरी आएको होला भन्दै गाउँले युवाहरु भेला भएर त्यहाँ पुग्दा विमलेश र पवित्री घरको टाँडमा र शतिसले भुइँमा केराको पात ओछ्याएर सुतिरहेको अवस्थामा फेला पारेको स्थानीय भगवान बाबुले बताए ।
त्यतिबेला विमलेश स्थानीयलाई देखेपछि भाग्न सफल भए । तर, शतिसलाई भने नियन्त्रणमा लिएपनि उनका बुबा विन्दे साफीले बिहान पञ्चायतमा ल्याउने सर्तमा उनलाई लिएर गएको पवित्रीका दाजु जगनारायण सदाले जानकारी दिए ।सोहीदिन राती विन्दे साफीले पवित्रीलाई समेत हप्किदप्की दिएर घर पठाएको गाउँलेहरु बताउँछन् । मंगलबार बिहान छलफलमा बस्न गाउँलेहरु भेला हुँदै गर्दा आँगनमा देखीएका पवित्री केही बेरमै घरमै पासो लागेको अवस्थामा फेला परेकी हुन् ।गाउँले थाहा पाउनासाथ प्रहरीलाई खबर गरेपनि दोषीहरुलाई प्रहरीले नेताहरुको दबाबमा पक्राउ नगरेको भन्दै स्थानीयहरु आक्रोशित बनेका छन् । आक्रोशित स्थानीयहरुले ‘प्रहरी प्रशासन मुर्दावाद’को नारा लगाउँदै पूर्वपश्चिम राजमार्ग अवरुद्धसम्म गरे । केहीसमय त्यस ठाँउको अवस्था तनावग्रस्त बन्यो ।मृतक पवित्रीको परिवारले मंगलबार इलाका प्रहरी कार्यालय मिर्चैयाका विमलेश र शतिसको नाममा किटानी जाहेरी दिएको बताएको छ । घटनाबारे अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले बताएको छ ।मृतक पवित्रीको शव पोष्टमार्टमको लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।