
प्रमुख प्रतिपक्ष दल नेकपा(एमाले)का सांसद देवेन्द्र दाहालले संसदमा अड्किएर बसेका विधेयकको अवस्था हेर्नका लागि विशेष संसदीय समिति गठन गर्नुपर्ने बताएका छन् । आज राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद दाहालले प्रतिनिधि सभा र राष्ट्रिय सभामा धेरै विधेयकहरु अड्किएर बसेको बताए । उनले संसदमा अड्किएर रहेका तथा विचाराधीन विधेयकलाई हेर्नेगरी दुवै सदनमा अनुगमन, सुपरिवेक्षण र सुझाव समिति गठन गर्नुपर्ने बताए । उनले सरकारको वेवास्ताका कारण संसदमा विधेयक र कानूनहरु अलपत्र परेको भन्दै सो समितिले विधेयकको अवस्थाको सम्बन्धमा कुनैपनि समयमा अनुगमन, सुपरिवेक्षण गर्ने र झकझक्याउने काम गर्नसक्ने उल्लेख गरे ।

सांसद दाहालले सरकारले संवैधानिक परिषद्सम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता गरेकोप्रति विरोध जनाए । विगतमा केपी ओली नेतृत्वको सरकारले जे कुरा ल्याएको थियो विधेयकमा सोही कुरा ल्याएको भन्दै उनले सरकारले जे कुराको विरोध गरेको हो सोही कुरा ल्याएको बताए ।



