
काठमाडौं । सिंहदरबार परिसरभित्र साउन महिनादेखि ग्याँस सिलिन्डर प्रयोग गर्न नपाइने भएको छ । सरकारले आगामी साउन महिनाभित्र सिंहदरबार परिसरबाट ग्याँस सिलिन्डर हटाउन सबै मन्त्रालयलाई पत्राचार गरेको छ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिंहदरबारभित्रका सबै मन्त्रालय तथा निकायलाई पत्राचार गर्दै आगामी आर्थिक वर्ष २०७९–८० को बजेटको बुँदा नं. २५३ को प्रभावकारी कार्यान्वयन गर्न भनेको छ।



बजेटको सो बुँदामा भनिएको छ, ‘सिंहदरबार परिसरबाट आगामी साउन महिनाभित्र ग्याँस सिलिन्डर विस्थापित गरी विद्युतीय चुलो उपयोग गर्नुपर्ने व्यवस्था मिलाइएको छ।’ यो बुँदा कार्यान्वयन गर्न अब सिंहदरबारका सबै क्यान्टिनबाट ग्याँस सिलिन्डर विस्थापित हुनु पर्ने भएको छ।

बजेटले आगामी ३ महिना भित्र महानगर र उपमहानगरपालिका भित्रका सबै सार्वजनिक कार्यालय र निवासलाई ग्यास सिलिण्डर मुक्त गराई क्रमशः विद्युतीय चुलो प्रयोगलाई देशव्यापी बनाउने घोषणा गरेको छ।