सिंहदरबारमा ४ वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद् अन्तर्गतका ४ संसदीय समितिको बैठक आज बस्दैछ। संघीय संसद सचिवालयका अनुसार राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समिति, कानुन न्याय तथा मानवअधिकार समिति महिला तथा सामाजिक समिति र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्न लागेको हो।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको बैठक दिउँसो सवा १२ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा एसपीपीबारे छलफल हुने सहसचिव लक्ष्मीप्रसाद गौतमले जानकारी दिएका छन्। 

यसैगरी कानुन न्याय तथा मानवअधिकार समितिको बैठक बिहान साढे १० बजे बस्दैछ। उक्त बैठकमा बहुराष्ट्रिय सङ्गठित अपराध विरुद्धको सुंयक्त राष्ट्र संघीय महासन्धि अन्तर्गत मानव बेचबिखन, महिला बालबालिका बेचबिखन ओसारपसार रोकथाम दमन तथा सजाय गर्ने सम्बन्धमा छलफल हुनेछ। 

मधेशी आयोगको आ.व २०७७/०७८ आर्थिक प्रतिवेदन र आगामी आव को स्वीकृत कार्यक्रम कार्यान्वयन रणनीति सम्बन्धमा छलफल गर्न महिला तथा समाजिक समितिको बैठक बिहान ११ बजे बस्दै छ। 

यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ । आजको बैठकमा वैदेशिक रोजगार तथा श्रम सम्बन्धी विविध विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।