एनआरएनको हित हुने गरी नागरिकता विधेयक ल्याइएको छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले हालै प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पारित भएको नागरिकता विधेयकले एनआरएनको हितलाई जोड दिएको बताएका छन् ।

शनिबार बिहान जापानको राजधानी टोकियोमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले नेपालमा विकास र राजनीतिक स्थायित्वको आधार तयार गर्न सके मात्र विदेशमा रहेका नेपाली स्वदेश फर्किने र उनीहरुको ज्ञान, सिप र साधनको उच्चतम प्रयोग गर्न सकिने बताए।

प्रचण्डले भने,‘नागरिकताको एनआरएनसँग सम्बन्धित जो विषय थियो, संविधानमा हामीले नै पहल गरेर राखियो र अहिले यो विधेयक हामी अगाडि बढाउँदैछौं । त्यसमा पनि एनआरएन नेपालीहरु जो विदेशमा छन् उनीहरुको हितलाई बढी ध्यान दिइएको छ।’

उनले नेपालले जापानमा बस्ने नेपालीको लागि के गर्न आवश्यक छ त्यसको अध्ययन गर्ने समेत बताए। नेपाल र जापानको सम्बन्ध पुरानो भएको बताउँदै उनले नेपालको प्रमुख ‘डोनर कन्ट्रि’ जापान भएको उनको भनाइ थियो।

आफ्नो र राष्ट्रिय सभा अध्यक्षको भ्रमणले दुई देशबीचको सम्बन्ध विस्तार गर्न थप सहयोग पुग्ने प्रचण्डको विश्वास छ। प्रविधिको क्षेत्रमा अगाडि रहेकाले जापान सबैको निमित्त प्रेरणाको स्रोत भएको उनले बताए।

उनले भने,‘जापान हामी सबैका निम्ति एउटा प्रेरणाको स्रोत पनि हो। कसरी युद्धबाट तवाहा बनाइएको देश, आफ्नै खुट्टामा उभिएर, आफ्नै मेहनतले यति माथि आउनसक्दो रहेछ भन्ने कुराको उदाहरण जापान हो।’

प्रचण्डले जापान भ्रमणका क्रममा जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेलाई भेट्ने इच्छा रहेपनि पूरा हुन नसकेको बताए।